काठमाडौं, २१ असोज । प्रधानमन्त्री तथा नेपाल प्रज्ञा प्रतिष्ठानका संरक्षक केपी शर्मा ओलीले नेपाल प्रज्ञा प्रतिष्ठानमा कुलपति र एकजना सदस्य नियुक्ति गरेका छन् ।
प्रधानमन्त्री ओलीले डा.गंगा प्रसाद उप्रेतीलाई आगामी चारवर्षका लागि प्रतिष्ठानको कुलपति नियुक्त गरेका छन् । यसैगरी सदस्यमा जगत प्रसाद उपाध्यायलाई नियुक्त गरेका छन् । उप्रेती यस अघि पनि सोही पदमा कार्यरत थिए ।
प्रधानमन्त्री ओलीले उपकुलपति डा.उप्रेतीलाई सिंहदरबारमा पद तथा गोपनियताको सपथ ग्रहण गराएका छन् । सदस्य उपाध्यायलाई कुलपति उप्रेतीले पद तथा गोपनियताको सपथ गराए ।
सपथ ग्रहण समारोहलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले प्रतिष्ठानले समाजलाई साहित्य र साँस्कृतिक हिसाबले उजिल्याउने काम गर्नु पर्ने बताए । प्रधानमन्त्री ओलीले नेपाली वाङमयका अनेक ढाँचालाई प्रतिष्ठानले प्रष्फुटन गराउनु पर्ने बताए । “साहित्यिक अभियान, राजनीति, शासन सञ्चालन, उत्पादन र बोलिचालीका अनेक ढाँचालाई व्यवस्थित गर्ने काम प्रतिष्ठानको हो” प्रधानमन्त्री ओलीले भने ।
नेपालको सामाजिक मूल्यमान्यता विश्वमा नै अनुपम रहेको बताए । नेपालमा जस्तो सामुहिक परिवार विश्वमा कतै पनि नभएको उल्लेख गर्दै प्रधानमन्त्री ओलीले भने “यो प्रणालीबाट धेरै संस्कार सिक्न सकिन्छ ।”
प्रधानमन्त्री ओलीले नेपालका साँस्कृतिक पर्वहरुले सामाजिक सम्बन्धलाई मजवुद बनाउने काम गरेको बताए । सामाजिक रुपमा, पारिवारिक रुपमा कहिले कुनै प्रकारले द्वन्द्व, झगडा भइहाले पनि चाडपर्वले त्यसलाई पुन स्थापित गरिदिने प्रधानमन्त्री ओलीको भनाइ छ ।
“दिदी भाइ बीच झगडा भए तिजले मिलाइदिन्छ । दाजुभाइ बीच झगडा भए दशैंले मिलाइदिन्छ । दाजु बहिनीबीच झगडा भए तिहारले मिलाइदिन्छ” प्रधानमन्त्री ओलीले भन्नुभयो “हाम्रा सामाजिक पर्वहरुले सम्बन्धलाई पुनमरमत गर्ने काम गरेका छन् ।”
तपाईको प्रतिक्रिया