काठमाडौं, १९ कार्तिक । नवनियुक्त सातवटै प्रदेशका प्रमुखहरुले पद तथा गोपनीयताको शपथ लिएका छन् ।
मंगलबार बिहान राष्ट्रपति भवन शीतलनिवासमा आयोजित समारोहमा राष्ट्रपति विद्यादेवी भण्डारीले सातै प्रदेश प्रमुखहरूलाई शपथ ग्रहण गराएकी हुन् ।
मन्त्रिपरिषद्को बिहीबार बसेको बैठकले सातै प्रदेश प्रमुखलाई बर्खास्त गरेको थियो । कांग्रेस सरकारका पालामा नियुक्त प्रदेश प्रमुख हटाएपछि सत्तारूढ दलको सिफारिसमा सोमबार प्रदेश १ मा सोमनाथ अधिकारी ‘प्यासी’, प्रदेश २ मा तिलक परियार, प्रदेश ३ मा विष्णु प्रसाईं, गण्डकी प्रदेशमा अमिक शेरचन, प्रदेश ५ मा धर्मनाथ यादव, कर्णालीमा गोविन्द कलौनी र सुदुरपश्चिममा शर्मिलाकुमारी पन्त नियुक्त भएका थिए ।
शपथ ग्रहण समारोहमा उपराष्ट्रपति नन्दबहादुर पुन, प्रधानमन्त्री केपी शर्मा ओली, प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जवरालगायत उपस्थित थिए ।
तपाईको प्रतिक्रिया