प्रारम्भिक बालविकासका लागि बाध्यकारी कानून बनाइने : मुख्यमन्त्री राउत

समाचार

11/27/2019


जनकपुरधाम, ११ मंसिर । मुख्यमन्त्री लालबाबु राउतले प्रारम्भिक बालविकासको प्रभावकारी कार्यान्वयनको प्रदेशमा बाध्यकारी कानून बनाइने पक्षमा आफु रहेको बताएका छन् ।

प्रारम्भीक बालविकासको लागि प्रदेश सभा सदस्यहरुको समन्वय समूहले बुधबार जनकपुरमा आयोजना गरेको प्रादेशिक संरचनामा प्रारम्भिक बालविकासको लागी संवैधानिक अधिकार तथा दायित्व विषयक परामर्श कार्यक्रमको उद्घाटन गर्दैै मुख्यमन्त्री राउतले सो कुरा बताएका हुन् ।

उनले मुलुकको भविष्यका कर्णाधार हुने बालबालिकाको विकासको क्रम आमाको गर्भ बाटै शुरु हुने भएकाले उनीहरुको स्वस्थ्य र सक्षम हुने अधिकारलाई बाध्यकारी कानून मार्फत स्थापित गर्नुपर्ने उल्लेख गरे ।

मुख्यमन्त्री राउतले बालविकासको लागि आवश्यक कानूनको खाका तयार पार्न समन्वय समूहलाई निर्देशन दिँदै ती कार्यक्रममा बजेटको अभाव हुन नदिने प्रतिवद्धता समेत जनाएका छन् । साथै प्रदेशमा संचालनमा रहेको बेटी पढाउ, बेटी बचाउ कार्यक्रमकै तर्जुमा बालविकासको लागि छुट्टै अभियान चलाउनु पर्ने उल्लेख गर्दै मुख्यमन्त्री राउतले यस अभियानका लागि प्रदेश सरकार हर समय तत्पर रहने बताए ।

समन्वय समूहका संयोजक एवं प्रदेशसभा सदस्य गोविन्द न्यौपानेको अध्यक्षतामा भएको परामर्श कार्यक्रममा प्रतिनिधिसभा सदस्य सत्या पहाडी, एकबाल मियाँ, सरिता गिरी यादव, प्रदेश सभा सदस्य परमेश्वर साह, बाबु लाल साह , विज्ञहरु सहितको उपस्थिति रहेको थियो ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ