राकेश यादव, रौतहट, ३० कार्तिक । गौर नगरपालिकाका पूर्वमेयर गौरीशंकर प्रसाद यादवको शुक्रबार बिहान ३ बजेको समयमा निधन भएको छ ।
मृगौला रोगबाट ग्रसित रहेका यादवको उपचारको क्रममा भारतको दिल्लीस्थित सरगंगाराम अस्पताल राजेन्द्र नगरमा ६८ वर्षको उमेरमा निधन भएको हो ।
विगत १० वर्षदेखि रोगबाट ग्रसित रहेका यादव कार्तिक १३ गते उपचारका लागि दिल्ली गएका थिए । गौरको पहिचान गराउने व्यक्तिको रुपमा परिचित रहेका पूर्वमेयर यादवको निधनले गौर नगरवासी शोकमा डुबेका छन् ।
२००७ साल माघ १९ गतेका दिन गा.वि.स.गौर ७ मा जन्मेका यादव गौरको विकासप्रेमीको रुपमा चिनिन्थे । २०२५ सालमा तत्कालीन जिल्ला पंचायतमा खरिदार पदमा कार्य गरेका यादवले जागिर छोडेर केही समय ठेकेदारीको काम पनि गरेका थिए ।
नेपाली कांग्रेसबाट राजनीतिक जिवन शुरु गरेका यादव २०४६ सालको जनआन्दोलन पछि मुलुकमा प्रजातन्त्र स्थापना पश्चात २०५४ सालमा भएको दोस्रो आम निर्वाचनमा गौर नगरपालिकाको दोस्रो मेयरको रुपमा स्वतन्त्रबाट निर्वाचित भएका थिए ।
२०४८ सालमा गा.वि.स. बाट गौर रौतहटको पहिलो नगरपालिकाको रुपमा स्थपना भएको थियो । पहिलो मेयरको रुपमा बाबुलाल साह निर्वाचित भएका थिए ।
शिक्षा र विकासमा पछि परेका गौरलाई विकाससँग चिनाउन सफल भएका पूर्वमेयर यादव गौरमा विद्यालय, क्याम्पस, नगरपालिकाको भवन, बजारको व्यवस्थापन, बसपार्कको निर्माणका लागी जग्गा उपलब्ध गराई फाउण्डेशन समेत गराउन सफल भएपछि विकासे पुरुषको नामले प्रसिद्ध भए ।
नेपाली कांग्रेसका क्षेत्रीय महाधिवेशन प्रतिनिधि समेत रहेका यादव २०७४ सालको संघीय व्यवस्थाको पहिलो निर्वाचनमा संघीय समाजवादी फोरम नेपालबाट गौर नगरपालिकाको प्रमुख पदका लागि चुनाव लडेका थिए ।
यादवले रौतहटको शिक्षाको स्तरउन्नतिका लागि आफ्नो नामको जग्गा दिएर गौरीशंकर यादव रौतहट क्याम्पसको २०४० साल पौष १७ गते स्थापना गरेका थिए । शनिबार यादवको पार्थिव शरिर नगर परिक्रमा गराई हिन्दु परम्परा अनुसार अन्त्येष्टि गरिने पारिवारिक स्रोतले जनाएको छ ।
एउटा राजनितिज्ञको अन्त भयो : प्रदेश सांसद यादव
संघीय समाजवादी फोरम नेपालका प्रदेश २ का सांसद राम किशोर यादवले पूर्वमेयर यादवको निधनले एउटा कुशल राजनितिज्ञ व्यक्तित्वको अन्त भएको बताएका छन् ।
गौरको विकास पुरुषको अन्त भयो : राज्यमन्त्री यादव
गौरको विकासमा अतुलनीय योगदान गरेका पूर्वमेयर यादवको निधनले फोरम नेपालको ठूलो क्षति भएको जिकिर गर्दै प्रदेश २ का कृषि, भूमि व्यवस्था तथा सहकारी राज्यमन्त्री योगेन्द्र राय यादवले मृत आत्माको चिर शान्तिको कामना गरेका छन् ।
उनले गौरीशंकर यादवको गौर नगरपालिकाको विकासमा अविस्मरणीय योगदान रहेकोले उनको निधनले ठूलो क्षति भएको बताएका छन् । मृतक यादवको कार्य सदैव यादगार रहने छन् भन्दै राज्यमन्त्री यादवले दुख व्यक्त गरे ।
उनले भने, ‘पूर्वमेयर यादवले गरेको विकास जस्तो अरु जनप्रतिनिधिलाई गर्न चुनौती रहेका छन् । शान्त स्वाभावका रहेका यादवको सोच विकास गर्ने रहेका थिए ।’
गौरले कुशल अभिभावक गुमायो : मेयर गुप्ता
गौर नगरपालिकाका मेयर अजय कुमार गुप्ताले पूर्वनगर प्रमुख गौरी शंकर यादवको निधनबाट गौरले एउटा कुशल विकासप्रेमी अभिभावक गुमाएको बताएका छन् । मेयर गुप्ताले गौरका लागि यादव सक्षम व्यक्तित्वको रुपमा रहेका थिए बताउँदै गुप्ताले उनको निधनले दुखित भएको बताए ।
पूर्व मेयर यादवको मृत्युको खबर सुन्दा आकाश खसेझैं आभाष भएको वर्णन गर्दै मेयर गुप्ताले उनको शोकमा एक दिन नगरपालिका कार्यालय बन्द गरिएको जानकारी दिए । मृतआत्माप्रति चिर शान्तिको कामना गर्दै शोकाकुल परिवारलाई धैर्यधारण गर्नका लागि शक्ति प्रदान गर्न भगवानसँग प्रार्थना गरेका छन् ।
ठूलो क्षति भयो : नगर प्रत्यासी यादव
नेकपाका नेता एवम राजदेवी नगरपालिकाका नगर प्रमुखको प्रत्यासी भिखारी प्रसाद यादवले गौर नगरपालिकाका पूर्वमेयर यादवको निधनको खबरले स्तब्ध एवम् मर्माहित भएको बताएका छन् ।
विकासमा अग्रपंक्तिमा रहेका यादवको निधनले ठूलो क्षति भएको महसुस भइरहेको उल्लेख गरे । उनले भने, ‘पूर्वमेयर यादवले गरेको गौरको विकास सदैव मनमस्तिक्समा रहने छन् ।’
अनुभवी विकास प्रेमीको अन्त भयो : विद्यार्थी नेता प्रकाश
संघीय समाजवादी फोरम नेपालका भ्रातृ संगठन समाजवादी विद्यार्थी फोरमका नेता प्रकाश भाईले एउटा अनुभवी अभिभावक गुमाएको बताएका छन् ।
पूर्वमेयर गौरी शंकर यादवको नामले गौरको पहिचान रहेको बताउँदै युवा नेता यादवले यस्ता पुरुष अब गौरले पाउन मुस्किल हुने दाबी गरे । उनको योगदान अब इतिहास बनेर बस्ने भन्दै युवा नेता प्रकाशले मृत आत्माको चिर शान्तिको कामना गरेका छन् ।
तपाईको प्रतिक्रिया