रौतहट, १४ असोज । हिन्दूहरुको महान चाड विजयादशमी तथा तिहार पर्वलाई लक्षित गर्दै जिल्ला प्रहरी कार्यालय रौतहटले सभ्य सुरक्षित तवरले चाडपर्व मनाउंन १६ बुँदे अनुरोध पत्र सार्वजनिक गरेको छ ।
चाड पर्वमा हुने अवाञ्छित कार्यलाई निरुत्साहित गर्नका लागि सुरक्षित सतर्कता अपनाउन सबैमा अनुरोध गरेको हो ।
प्रहरी कार्यालयले पर्वको बेला घरबाट बाहिर जाँदा नजिकको प्रहरी कार्यालयमा जानकारी गराउन अनुरोध समेत गरेको छ ।
पर्वमा पटका, जुवा तास, कौडा खेलेमा कार्यवाही समेत गर्ने चेतावनी दिएको छ । जुवा तास कौडाको कारण समाजमा झैझगडा हुने भएकोले प्रतिबन्ध लगाइएको प्रहरी निरीक्षक पप्पु नायकले बताएका छन् ।
प्रहरी निरीक्षक नायकका अनुसार प्रहरीले जारी गरेको अनुरोध पत्रमा आफ्नो संस्कृतिलाई सभ्य तरीकाबाट मनाउँदै विकृति विसंगतिलाई अन्त्य गरौं, पर्वको समयमा चोरी, डकैती, लूटपाट हुन सक्ने सम्भावना बढी हुने भएकोले आफू पनि सतर्कता अपनाउ र छिमेकीलाई पनि सुरक्षित रहन सुझाव दिनु भनिएको छ ।
निषेधित मादक पदार्थको बिक्री वितरण सेवन नगरौं, पटका नपड्काउ, होहल्ला गुन्डागर्दी नगरौं, कोही गरेको खण्डमा तुरुन्तै प्रहरीको पैसा नलाग्ने १०० नम्बरमा पÞmोन गरी जानकारी गराउनु, गाउँघरमा कोही अपरिचित व्यक्ति आएको खण्डमा राम्ररी परिचय लिनु, घरमा बहुमूल्य बस्तु नगद गरगहना सकभर नराखौं, सवारी दुर्घटनाबाट बच्न ट्राफिक नियमको पालना गरौं जस्ता आग्रह गरिएको छ ।
प्रहरी निरीक्षक नायकले विगतको वर्षहरुमा पर्वको समयमा बढी सवारी दुर्घटना, लूटपाट, चोरीको घटना भएको स्मरण गर्दै यस वर्षमा यस्तो घटना हुन नदिन प्रहरी चनाखो भई स्टैंडमा बसेको बताए ।
जिल्लाको विभिन्न ठाउँमा व्यापक रुपमा सुरक्षाकर्मी परिचालन गरेको बताए । सादा पोषाकमा पनि मेला आयोजना हुने ठाउँहरुमा प्रहरी खटाइएको उनको कथन रहेको छ ।
तपाईको प्रतिक्रिया