काठमाडौं, २६ कार्तिक । जनगणतान्त्रिक बंगलादेशका राष्ट्रपति मोहम्मद अब्दुल हमिद काठमाडौँ आइपुगेका छन् । उनी विशेष विमानबाट मंगलबार दिउँसो काठमाडौं उत्रिएका हुन् ।
उनी नेपालको चारदिने औपचारिक राजकीय भ्रमणमा आएका हुन् । उनलाई राष्ट्रपति विद्यादेवी भण्डारीले विमानस्थलमै पुगेर स्वागत गरेकी छन् । राष्ट्रपति भण्डारीको औपचारिक मैत्रीपूर्ण निमन्त्रणामा उनी नेपालको राजकीय भ्रमणमा आएका हुन् ।
परराष्ट्र मन्त्रालयका अनुसार राष्ट्रपति हमिद कात्तिक २६ गतेदेखि २९ गतेसम्म नेपालको औपचारिक भ्रमणमा रहनेछन् । उनको स्वागतमा त्रिभुवन विमानस्थलदेखि राजधानीका विभिन्न सडकलाई झकिझकाउ बनाई सिँगारिएको छ ।
राजकीय सम्मान दिने गरी भ्रमणको विशेष तयारी रहेको परराष्ट्रमन्त्रीका प्रेस सल्लाहकार सुदन ज्ञवालीले जानकारी दिए । भ्रमणका क्रममा राष्ट्रपति भण्डारी र बङ्गलादेशका राष्ट्रपति हमिदबीच उच्चस्तरीय भेटवार्ता हुनेछ ।
सो क्रममा राष्ट्रपति भण्डारीले समकक्षीको सम्मानमा रात्रिभोज आयोजना गर्नेछिन् । मन्त्रालयका अनुसार उपराष्ट्रपति नन्दबहादुर पुन, प्रधानमन्त्री केपी शर्मा ओली, राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिना, परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले बङ्गलादेशका राष्ट्रपति हमिदसँग शिष्टाचार भेटवार्ता गर्ने कार्यक्रम तय भएको छ ।
त्यस्तै उच्च राजनीतिक नेतृत्वले समेत उनीसँग भेटवार्ता गर्नेछन् । भ्रमणमा रहँदा उनले राजधानी तथा भक्तपुरस्थित विश्वसम्पदा सूचीमा सूचीकृत ऐतिहासिक स्थल, प्रागऐतिहासिक तथा सांस्कृतिक क्षेत्रको भ्रमण गर्नेछन् ।
त्यस्तै राजधानीबाहिरको पर्यटकीय नगरी पोखरालगायत पर्यटकीय क्षेत्रको समेत उनले अवलोकन भ्रमण गर्ने कार्यक्रम छ ।
तपाईको प्रतिक्रिया