बाढी/पहिरो पीडितहरुको उद्धारमा नेपाली सेना

समाचार

7/13/2019

काठमाडौं, २८ असार । देशभर भइरहेको अविरल वर्षाका कारण देशका विभिन्न स्थानहरुमा आएको बाढी पहिरो प्रभावित क्षेत्रमा उद्धार कार्यका लागि नेपाली सेनाका विभिन्न स्थानहरुमा तैनाथ युनिटहरुबाट २१ जिल्लाको ३२ स्थानमा ८००० जना फौज परिचालन भई उद्धारको कार्यलाई जारी राखिएको छ ।

बाढी पहिरोबाट अति प्रभावित १४ जिल्लाहरु (झापा, सुनसरी, उदयपुर, भोजपुर, सिराहा, धनुषा, महोत्तरी, रौतहट, बारा, सिन्धुली, मकवानपुर, काठमाण्डौ, ललितपुर र काभ्रेपलान्चोक) मा हालसम्म ३५८ जनाको सकुशल उद्धार गरिएको ।

उक्त बाढीरपहिरोमा परी मृत्यु भएका ७ जनाको शव निकालिएको र हालसम्म ६ जना बेपत्ता रहेकोमा बेपत्ता भएका व्यक्तिहरुको खोजकार्यलाई जारी राखिएको नेपाली सेनाले जनाएको छ ।

पहिरोका कारण अवरुद्ध वि.पि. राजमार्ग, काठमाण्डौ(हेटौडा र भोजपुर जिल्लाको भोजपुर(खोटाङ(लेगुवा सडकहरुमा फौज परिचालन भई अवरुद्ध सडकलाई सुचारु गरी यातायात आवगमनलाई सहज बनाउने कार्यमा खट्टिरहेको छ ।

नेपाली सेनासंग भएका विपद्को समयमा प्रयोग हुने श्रोत, साधन तथा जनशक्तिसहित ईटहरी, धनुषा (धारापानी) र काठमाण्डौमा हेलिकोप्टर स्टयाण्डवाईमा रहनुको साथै प्रत्येक जिल्लामा तैनाथ युनिटहरुमा आपतकालिन उद्धार सामग्रीसहित फौज तयारी हालतमा राखिएको छ ।

विगतका वर्षहरुमा बाढी पहिरोबाट भएको क्षतिहरुलाई मध्यनजर गरी विपद्को उच्च जोखिम भएका स्थानहरुमा नेपाली सेनासंग उपलब्ध भएका विभिन्न किसिमका डुङ्गालगायत अन्य उद्धारका सामग्रीहरुसहित कमबेट क्विक रिएक्सन टीम (सीक्युआरटी) तयारी हालतमा राखिएको छ ।

चितवनस्थित नं.२ विपद् व्यवस्थापन गणबाट ओबीएम तथा रवरबोटसहितको सीक्युआरटी रौतहटको चन्द्रनिगाहपुरतर्फ उद्धार कार्यको लागि खट्टिएको छ ।

साथै गृह मन्त्रालयबाट बाढीरपहिरो प्रभावित ईलाकामा पठाउन तयार गरिएका पाललगायतका अन्य राहत सामग्रीहरु नेपाली सेनाको हेलिकोप्टरबाट ढुवानी गर्ने व्यवस्था मिलाईएको छ ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ