काठमाडौं, ३० असार । राष्ट्रिय जनता पार्टी नेपालका अध्यक्षमण्डलका सदस्य महन्थ ठाकुरले विगत केही दिन देखिको वर्षा र यसका कारण आएको वाढी, पहिरो र डुबानका कारण पीडितहरुका लागि अविलम्ब राहतको व्यवस्था गर्न सरकारसँग माग गरेका छन् ।
ठाकुरले सोमबार एक विज्ञप्ति जारी गरी महोत्तरी जिल्ला क्षेत्र नं. ३ जलेश्वर नगरपालिका वार्ड नं. ८ बजराहीका प्रशान्त ठाकुर र युवराज ठाकुर लगायत देश र मधेशको गरि तीस भन्दा बढी जिल्लाहरुमा ६० जना भन्दा बढी नागरिकले ज्यान गुमाउनु परेको, दर्जनौ भन्दा बढी वेपत्ता भएको, हजारौं नागरीक घाइते भएको, दशौं हजार नागरिक प्रत्यक्ष प्रभावित भएको घटना प्रति गहिरो दुःख व्यक्त गरेका छन् ।
ठाकुरले ज्यान गुमाएकाहरु प्रति भावपूर्ण श्रद्धाञ्जली व्यक्त गर्दै शोक सन्तप्त परिवारजन प्रति सम्बेदना प्रकट गरेका छन् ।
घाइतेहरुको शीघ्र स्वास्थ्य लाभको कामना गर्दै बेपत्ताहरुको यथाशीघ्र खोजी कार्य र पीडितहरुका लागि राहत र उद्धार कार्यमा पार्टीका सम्पूर्ण तहका नेता कार्यकर्ताहरुलाई जुट्न उनले आग्रह गरेका छन् ।
नेपाल सरकारसँग मृतक परिवारलाई क्षतिपूर्ति र घाइतेको उपचार व्यवस्था अविलम्ब गर्न माग गर्दै बाढी र पहिरो पीडितहरुलाई राहतको व्यवस्था गर्न उनले आग्रह गरेका हुन् ।
तपाईको प्रतिक्रिया