रौतहट, ९ मंसिर । रौतहटको बृन्दावन नगरपालिकाले चापा कलको नाममा चरम लापरबाही र आर्थिक चलखेल गरिरहेको स्थानीयले आरोप लागाएका छन् ।
बृन्दावन नगरपालिकाले विगत २ महिनादेखि नगरस्तरीय योजनाअन्र्तगत उक्त चापा कल निःशुल्क वितरण गरिरहेको नगर प्रमुख रामस्नेही यादवले बताएका छन् ।
सो कल वितरणको बारेमा सञ्चारकर्मीले बुझ्न खोज्दा नगर प्रमुख यादव र प्रमुख प्रशासकीय अधिकृत नागेन्द्र राय यादवले पछि जानकारी दिने भन्दै पन्छिएका छन् ।
बृन्दावनमा कति ओटा कल वितरण हुने, कस्ता जनतालाई वितरण गर्ने भन्ने कर्मचारीदेखि जनप्रतिनिधिसम्मलाई सो सम्बन्धमा जानकारी नभएको र मेयर र प्रशासकीय अधिकृतको मिलोमत्तोमा गुपचुपमा सो कल वितरण गरिरहेको स्थानीयले बताएका छन् ।
स्थानीय सरकारले योजना तर्जुमा गर्दा स्थानीय स्तरमा छलफल गरि तर्जुमा गर्नु पर्ने भएतापनि सो कल वितरणबारे स्थानीयलाई केही जानकारी नै नगरि आफ्ना कार्यकर्ता र नातागोतालाई मात्र वितरण गरेको स्थानीयको भनाइ रहेको छ ।
एकै परिवारका चार जना सदस्यलाई कल वितरण भईरहदा समेत सम्बन्धित निकायले चासो नदेखाएको स्थानियले गुनासो गरेका छन् ।
बृन्दावनको उत्तरी क्षेत्रमा पर्ने बलेरी, रमौली, खैराटोल, विश्रामपुर, धमौरा, हर्षासाका स्थानीयले मात्र कल पाएको एकजना स्थानीयले नाम नखोल्ने सर्तमा बताए ।
कल बितरण भइरहेको तर दक्षिणी क्षेत्रमा पर्ने भुसाहा, बउहरि, सिसुवा धमौरा, आकरपाथर, नगरकटिया लगायतका क्षेत्रमा भने कल वितरण नभएको स्थानीयले बताएका छन् ।
बृन्दावन–६ हर्षासा चोकस्थित आशिफ हार्डवेयरबाट नगर प्रमुख यादवको सिफारिसमा चापा कल वितरण भएको तर के कति कल वितरण भएको छ सोको जानकारी हार्डवेयर बिक्रेता हाकिमले दिन नमानेको हो ।
चापा कल वितरणले सो नगरपालिकामा विवाद हुनथालेको छ । एकै परिवारमा २–३ वटा कल पाएका स्थानीयले आफ्नो आफन्त तथा नातेदार कहाँ पठाउन थालेको स्थानीयले बताएका छन् ।
तपाईको प्रतिक्रिया