रुपन्देही, १६ साउन । मदरसा शिक्षालाई व्यवस्थित गर्न तत्काल अधिकारसम्पन्न मदरसा बोर्ड गठन गर्न सरोकारवालाहरुले माग गरेका छन् ।
रुपन्देही, नवलपरासी, कपिलवस्तु, बाँके तथा रौटहटका मुस्लिम समुदायका धर्मगुरु, धार्मिक अगुवा तथा अभियन्ताहरुको बुटवलमा सम्पन्न छलफलले संघ, प्रदेश र पालिकाहरुमा अधिकारसम्पन्न मदरसा बोर्ड गठन गर्न माग गरेको हो ।
उनीहरुले मदरसामा शिक्षा आर्जन गरेकाहरुलाई समकक्षता प्रदान गर्नुपर्ने भन्दै मुजहवी मूल्य र मान्यतासहितको एकीकृत पाठ्यपुस्तक र तालिम सामग्री निर्माणमा जोड दिएका छन् ।
मदरसाहरुलाई गुठी तथा सामुदायिकमध्ये कुनै एकमा दर्ता गर्नुपर्ने भन्दै उनीहरुले शिक्षामा २० प्रतिशत बजेट विनियोजन हुनु पर्ने र अधिकतम बजेट मदरसा विकासमा खर्च गर्न माग गरेका छन् ।
राष्ट्रिय मदरसा संघका अध्यक्ष डाक्टर अब्दुल गनी अल्कुफीले मदरसा शिक्षालाई मूल प्रवाहीकरण गर्न आवश्यक रहेको भन्दै त्यसका लागि तीनै तहका सरकार उदासिन हुन नहुने बताए । धेरै मदरसाहरु चन्दा संकलनबाट सञ्चालित हुने भएकाले प्रयाप्त सुविधा नहुँदा मदरसाका शिक्षकहरु अर्थात मौलानाहरु फेरिने गरेको उहाँको भनाइ छ ।
प्रदेश ५ मा ५ सयभन्दा बढी मदरसा सञ्चालनमा रहे पनि ४१८ मात्रै दर्ता भएका छन् । दर्ता भएर सञ्चालनमा रहेका मदरसाहरुलाई प्राथमिक तहसम्म पढाइ हुनेलाई वार्षिक २ लाख, ८ कक्षासम्म पढाइ हुनेलाई ५ लाख र १० कक्षासम्म पढाइ हुने मदरसालाई ७ लाख ५० हजार बजेट सामाजिक विकास मन्त्रालयले प्रदान गदैै आएको छ ।
तपाईको प्रतिक्रिया