जनकपुरधाम, २३ असोज । प्रदेश नं २ सरकारको ‘बेटी पढाउ, बेटी बचाउ’ अभियानलाई सहयोग पु¥याउने उद्देश्यले बेलायत सरकारको अन्तर्राष्ट्रिय विकास मन्त्रालयले मंगलबारदेखि यहाँ बालिकाको शिक्षा चुनौती कार्यक्रम शुभारम्भ गरेको छ ।
आसमान नेपालको व्यवस्थापनमा बालिकाप्रति हुने सबै प्रकारका विभेदको अन्त्य र शिक्षामा रहेको लैङ्गिक असमानता घटाउने लक्ष्यसहित सो कार्यक्रमको शुभारम्भ गरिएको हो ।
सो कार्यक्रमअन्तर्गत कुनै पनि बालिकालाई पछि नपारौँ पहलसँगै बालिकालाई विद्यालय छोड्न लगाउने हानिकारक सामाजिक तथा लैङ्गिक मान्यतालाई बेटी पढाउ, बेटी बचाउ अभियानसँग सहकार्य गरी घटाउनमा मद्दत पु¥याउने र विद्यालयमा बालिकाको उपस्थित बढाइ बालिका शिक्षाका लागि सकारात्मक सामुदायिक दृष्टिकोण सिर्जना हुने विश्वास लिइएको छ ।
प्रदेश सरकारले बेटी पढाउ, बेटी बचाउ अभियानमार्फत प्रारम्भमा पाँच हजार बालिकाको शैक्षिक बीमा, साइकल वितरण, बाल विवाहको अन्त्य, बालिकालाई प्राविधिक शिक्षा उपलब्ध, बेटी सुरक्षित योजना, आदर्श विवाह गर्नेलाई सम्मान र पुरस्कार लगायतका योजना राखेको छ ।
सो अवसरमा मुख्यमन्त्री मो. लालबाबु राउत गद्दीले बेटी पढाउ, बेटी बचाउ अभियानअन्तर्गत समाजलाई शिक्षित बनाउने, महिलाप्रति समान व्यवहारको वातावरण सिर्जना गराउने, छोरीलाई सक्षम बनाउने उद्देश्य राखिएको बताए ।
अभियानअन्तर्गत आठै जिल्लामा एक हजार साइकल वितरण, पाँच वर्ष मुनिका पाँच हजार बालिका बीमा गर्ने योजना रहेको बताउँदै उनले विभेद अन्त्यका लागि सरकारले हरेक निकायमा महिला आरक्षणको व्यवस्था गर्ने सोच राखेको धारणा व्यक्त गरे ।
नेपालका लागि बेलायतका राजदूत रिचर्ड मोरिसले कुनै पनि बालिकालाई पछि नपारौँ पहलसँगै समाजमा विद्यमान असमान व्यवहारमा परिवर्तनका लागि बालिकाको शिक्षा र आर्थिक क्रियाकलापमा पहुँच बढाउनु जरूरी भएको बताए ।
उनले भने, “बेटी बचाउ, बेटी पढाउ र बालिका शिक्षा चुनौती कार्यक्रमले बालिकाप्रति हुने गरेको विभेदको अन्त्य र शिक्षामा रहेको लैङ्गिक असमानता घटाउनका लागि शुभारम्भ गरिएको यो कार्यक्रमबाट ठूलो शैक्षिक उपलब्धि हासिल हुनेछ ।”
प्रदेशका मुख्य न्यायाधिवक्ता दीपेन्द्र झाले बेटी पढाउ, बेटी बचाउ अभियान सामाजिक रूपान्तरणमा सहयोगी सिद्ध हुने विश्वास व्यक्त गरे ।
तपाईको प्रतिक्रिया