धनुषा, १६ जेठ । धनुषा मिथिला नगरपालिका ६ बस्ने शम्भु कुमार साहको करिब साढे २ वर्षीय छोरा आर्यन भन्ने समिर कुमार साहको गत वैशाख २४ गते हत्या गरेको अभियोगमा सोही नगरपालिका-६ बस्ने ५५ वर्षीय शत्रुधन महतोलाई उनकै घरबाट बुधबार प्रहरीले पक्राउ गरेको छ ।
गत वैशाख २३ गते समिर कुमार हराएको भन्ने ईलाका प्रहरी कार्यालय ढल्केवरमा खबर प्राप्त हुनासाथ खटिएको प्रहरीले खोजी गर्ने क्रममा वैशाख २४ गते साँझ सोही नगरपालिकास्थित बालकको घरबारी नजिकै झाडीमा धारिलो हतियारले कर्तव्य गरी मारेको अवस्थामा शव फेला परेको थियो ।
प्रारम्भिक अनुसन्धानको क्रममा मृत बालकका बाबु शम्भु कुमार तथा आमा रेणु देवी साह घाँस काट्न गएको अवस्थामा शत्रुधन महतोले खेलिरहेका समिर कुमारलाई ललाईफकाई अपहरण गरी आफनो घरमा बन्धक बनाई राखेको र वैशाख २४ गते बिहान शत्रुधन महतोले गर्ने गरेको धामी झाँक्रीको काममा दखल बढाई शक्तिशाली हुने अन्धविश्वासमा परी देवीदेउताको नाममा नरवलीको रुपमा नियतपूर्वक आफ्नै घरआँगनमा धारिलो हतियारले कर्तव्य गरी मारी शव झाडीमा फालेको खुल्न आएको छ ।
हाल निज शत्रुधन महतोका विरुद्ध अपहरण तथा कर्तव्य ज्यान मुद्धा अन्तर्गत सम्मानित जिल्ला अदालत धनुषाबाट पहिलो पटक दिन ७ को म्याद थप गरी प्रहरीबाट थप अनुसन्धान भइरहेको छ ।
तपाईको प्रतिक्रिया