भारतद्वारा कुलेश्वर आवास माध्यमिक विद्यालय भवन निर्माण

समाचार

9/28/2019

काठमाडौं, ११ असोज । काठमाडौंस्थित भारतीय राजदूतावासका नियोग उप–प्रमुख डा. अजयकुमारले काठमाडौं महानगरपालिका वडा नं. १४ स्थित कुलेश्वर आवास माध्यमिक विद्यालयको नवनिर्मित भवनको उद्घाटन गरेका छन् ।

उक्त उद्घाटन समारोहमा जिल्ला समन्वय समितिका अध्यक्ष शिव सुन्दरराज वैद्य, वडा अध्यक्ष शोभा सापकोटा तथा जिल्ला समन्वय अधिकृत पीताम्बर अधिकारी लगायत राजनीतिक नेता तथा सामुदायिक अगुवाहरुको सहभागिता थियो ।

सन् १९८९ मा कुलेश्वर आवास परिवार कल्याण संस्थानले स्थापना गरेको यस कुलेश्वर आवास माध्यमिक विद्यालय समुदायको सहयोगबाट सञ्चालित छ ।

हाल यस विद्यालयमा ८०० भन्दा बढी विद्यार्थीहरु अध्ययनरत छन् जसमध्ये ५० प्रतिशत छात्रा रहेका छन् । विद्यालयमा अध्ययनरत अधिकांश विद्यार्थीहरु समाजका सिमान्तकृत वर्गका छन् ।

भारत सरकारको ने.रु. ३.८६ करोड अनुदान सहयोगमा निर्मित यस तीनतल्ले नयाँ विद्यालय भवनमा २० वटा कक्षाकोठा लगायत प्रत्येक तल्लामा छात्रछात्राका लागि छुट्टै शौचालय, अण्डरग्राउण्ड पानीट्याङ्की, सेप्टिक ट्याङ्की तथा फर्निचरको व्यवस्था रहेको छ । यस विद्यालय निर्माणको परियोजनालाई काठमाडौं जिल्ला समन्वय समितिले कार्यान्वयन गरेको हो ।

यस नवनिर्मित संरचनाले विद्यार्थीहरुको सिकाई वातावरणलाई अभिवृद्धि गर्ने अपेक्षा गरिएको छ ।

शिक्षाको क्षेत्रमा पूर्वाधार विस्तार गर्ने नेपाल सरकारलको प्रयासलाई पूरा गर्ने सहयोगीको रुपमा रहेको यस परियोजनासँग जोडिन पाएकोमा भारत सरकार खुशी व्यक्त गरेको दूतावासद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ