भारतीय महिला संघद्वारा पशुपति क्षेत्र विकास कोषलाई विद्युतीय सवारीसाधन हस्तान्तरण

समाचार

11/27/2019

काठमाडौं, ११ मंसिर । भारतीय महिला संघका अध्यक्ष नम्रिता पुरीले पशुपति क्षेत्र विकास कोषका सदस्य सचिव डा. प्रदीप ढकाललाई पशुपति मन्दिर परिसरमा उच्च–गुणस्तरको लिथियम आयन ब्याट्रीजडित आठ सिट क्षमताको २ वटा विद्युतीय सवारी साधन हस्तान्तरण गरेकी छन् ।

यी वातावरण मैत्री सवारी साधनको उत्पादन भारतीय कम्पनी गयाम मोटर वकर््सले गरेको हो ।

अध्यक्ष पुरीले पशुपतिनाथ मन्दिरको दर्शन गर्न आउने तीर्थयात्री र विशेष गरी महिला, बालबालिका, वृद्धवृद्धा तथा अशक्त व्यक्तिहरुका लागि यी वातावरण मैत्री सवारीसाधन उपयोगी हुने बताइन् ।

यी सवारीसाधनले दुई महिलाका लागि रोजगारीको अवसर पनि प्रदान गर्नेछ । भारत र नेपालका जनताबीच रहेको साँस्कृतिक तथा धार्मिक सम्बन्धलाई सुदृढ गर्नुका साथै दुई देशका जनतालाई अझ नजिक ल्याउन विद्युतीय सवारीसाधनको हस्तान्तरण अर्को कोषेढुङ्गाको रुपमा रहनेछ ।

भारतीय राजदूतावासको संरक्षकत्वमा रहेको भारतीय महिला संघ भारतीय महिलाहरुको एक सङ्गठन हो जसले नेपालमा रहेका भारतीय महिलाहरुलाई एउटै मञ्चमा ल्याउने काम गर्दछ ।

यस संघले भारतीय र नेपाली महिलाबीच अन्तरक्रियाका लागि मञ्च प्रदान गर्नुका साथै भारतीय तथा नेपाली समुदायबीच सद्भाव र मित्रतालाई प्रवर्धन गर्ने काम गर्दछ ।

भारतीय महिला संघले नेपालमा महिला तथा बालबालिकालाई लक्षित गरी विभिन्न परोपकारी क्रियाकलापहरु पनि गर्दै आएको छ ।

हालै यस संघले काठमाडौंको नव ईन्द्र धनुष अंग्रेजी आवासीय विद्यालय, कोसेली फाउन्डेसन, बाल सारथी, नेपाली स्नेही काख र भक्तपुर क्यान्सर अस्पतालसँग मिलेर परोपकारी कार्यक्रमहरु सञ्चालन गरेको छ ।

युनेस्कोको विश्व सम्पदा क्षेत्रमा सूचीकृत पशुपतिनाथ मन्दिर तथा यस सँगैका क्षेत्रको संरक्षण तथा संचालनका लागि पशुपति क्षेत्र विकास कोषको स्थापना गरिएको हो ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ