भारतीय शहरहरुमा ‘चलिए पोखरा’

समाचार

7/8/2019

काठमाडौं, २३ असार । पश्चिमाञ्चल होटल संघ पोखराको आयोजनामा भारतमा सञ्चालित चलिए पोखरा अभियानको आठौं संस्करण सम्पन्न भएको छ ।

उत्तर भारतका विभिन्न चार शहरमा नेपाल पर्यटन बोर्डको प्रवद्र्धनमा ‘चलिए पोखरा’ अभियान सञ्चालन भएको हो ।

भारतीय पर्यटकलाई पोखरा घुम्न निम्तो दिने तथा उनीहरुका लागि पोखरा उचित गन्तव्य हो भन्ने सन्देश प्रदान गर्ने मुख्य उद्देश्य अभियानले बोेकेको हो ।

नेपाल पर्यटन बोर्ड गण्डकी प्रदेशका निर्देशक मणिराज लामिछानेले उत्तर भारतमा अहिले निकै गर्मी भएको भन्दै पोखरा घुम्नका लागि भारतीयलाई यो नै उचित समय रहेको बताए ।

पोखराका होटलका कोठाबाटै हिमाल देख्न सकिने र पोखरा पर्यटकीय राजधानीको रुपमा समेत मान्ने गरिएको जानकारी सो अवसरमा उनले गराए ।

पोखरा र लखनउ सिधा बस वा हवाई सेवा बाट जोड्नुपर्ने सुझाव लखनउमा आयोजित कार्यक्रममा भारतीय पक्षबाट राखिएको थियो ।

यसैगरी नेपालले सन् २०२० लाई नेपाल भ्रमण बर्षको रुपमा मनाउन लागेको जानकारी गराउँदै भारतीय पर्यटकलाई नेपाल भ्रमणका लागि सो अवसरमा प्रेरिरत गरिएको थियो ।

लखनउमा आयोजित कार्यक्रममा भारतीय जनता पार्टी उत्तर प्रदेशका प्रवक्ता राकेश त्रिपाठीले अहिले नेपाल जाने भारतीय पर्यटकको संख्या निकै बढेको भन्दै आपसी सहकार्यबाट त्यस्तो सम्भव भएको भनाई राखे ।

उत्तर प्रदेश पर्यटन विभागका निर्देशक श्रीमती प्रीति श्रीवास्तव, अल इन्डिया ट्राभल एण्ड ट्रान्सपोर्ट एशोसिएशनका अध्यक्ष सुनिल तिवारी, भारतीय सांसद सञ्जय चौधरी, उत्तर प्रदेश परिवहनका क्षेत्रीय प्रबन्धक आरके बोस र इन्द्रजीत सिंह लगायतले सो अवसरमा सुझाव राखेका थिए ।

२०१२ मा सुरु भएको चलिए पोखरा अभियान अन्तर्गत यो पटक भारतको पर्यटकीय शहर आगरा, उत्तर प्रदेशको राजधानी लखनउ, विहारको राजधानी पटना र सोही शहरको सिमावर्ती शहर रक्सौलमा कार्यक्रम सम्पन्न भएका थिए ।

सो अवसरमा व्यापारिक भेटघाट (बीटुबी) को आयोजना गरिएको र नेपाल र पोखरा सम्बन्धी डकुमेन्ट्री समेत भारतीय व्यवसायी र संचारकर्मीलाई देखाइएको संघका महासचिव गणेशराज पहारीले जानकारी दिए ।

सो अवसरमा विभिन्न ६ वटा प्याकेजहरु भारतीय पर्यटकका लागि सार्वजनिक गरिएको थियो । यो पटक अभियानमा होटलकर्मी, संचारकर्मी र बोर्डका अधिकारी गरी कूल ३२ जनाको सहभागिता रहेको थियो ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ