काठमाडौं, २५ पुस । भारतले विदेशबाट पाम आयल आयातमा प्रतिबन्ध लगाए पनि यस्तो प्रतिबन्ध मलेसियाका लागि मात्रै भएको जनाएको छ ।
भारतको वाणिज्य मन्त्रालयले विदेशबाट पाम आयल आयातमा प्रतिबन्ध लगाए पनि यस्तो प्रतिबन्ध मलेसियाका लागि मात्रै भएको भारतीय मिडियाले उल्लेख गरेको छ ।
भारतीय पत्रिका द प्रिन्टका अनुसार भारत र मलेसियाबीच सम्बन्धमा तिक्तता आएपछि उसले मलेसियाबाट पाम आयल आयात नगर्ने भएको हो ।
समाचारमा भारतीय सरकारका एक अधिकारीलाई उद्धृत गर्दै भनिएको छ, ‘कुनै एउटा देशलाई मात्र लक्षित गरेर सूचना जारी गर्दा विश्व व्यापारको नियम उल्लंघन हुने भएकाले सबै देशबाट पाम आयल आयतमा प्रतिबन्ध लगाइएको सूचना जारी गरिएको हो । यद्यपि, इन्डोनेसिया र नेपालका हकमा केस–टू–केस डिल गरेर लाइसेन्स जारी गरिनेछ ।’
भारतको वाणिज्य एवम् उद्योग मन्त्रालयले एउटा सूचना जारी गर्दै पाम आयलमा प्रतिबन्ध लगाइएको घोषणा गरेको थियो । भारतको उक्त प्रतिबन्धप्रति नेपाल र इन्डोनेसियाले असन्तोष व्यक्त गरेका थिए ।
द प्रिन्टको समाचारमा भनिएको छ, ‘नेपाल र इन्डोनेसियाले पाम आयल उनीहरुले कहाँबाट आयात गरेका हुन् त्यसको प्रमाण भने पेश गर्नुपर्नेछ । यदि मलेशियामा आयात गरेको भए त्यस्तो तेल आयात गरिने छैन ।’
भारतीय विदेशमन्त्रालयका प्रवक्ता रवीश कुमारले पनि पाम आयल आयातकर्ताले विदेशबाट खरिद गर्दा भारत र त्यो देशबीचको सम्बन्धलाई ध्यान दिनुपर्ने बताएका थिए ।
यदि भारतले साँच्चिकै नेपालबाट तेल आयातमा प्रतिबन्ध नलगाउने हो भने नेपाली व्यवसायीले पनि यो अवस्थाबाट थप फाइदा लिन पाउनेछन् ।
तपाईको प्रतिक्रिया