काठमाडौँ, १६ पुस । भारत र चीनसँगको सीमानामा सशस्त्र प्रहरी चौकी थप्ने काम सुरु भइसकेको गृहमन्त्री रामबहादुर थापाले बताएका छन् ।
भारतले सीमाना मिचेका ठाउँमा र चीनसँगको सीमानामा मन्त्रिपरिषदको निर्णयअनुसार सशस्त्र प्रहरीका चौकी पनि थपिन लागेको उनले जानकारी दिएका हुन् ।
संघीय संसदका दुवै सदनको संयुक्त संसदीय समिति राज्यका निर्देशक सिद्धान्त, नीति र दायित्वको कार्यान्वयन, अनुगमन तथा मूल्यांकन समितिमा गृहमन्त्री थापाले सीमा सुरक्षाका सवालमा दार्चुलामा प्रहरी चौकी स्थापनाको प्रकृया अगाडि बढिसकेको जानकारी दिए ।
सशस्त्र प्रहरीका बलका लागि चौकी स्थापना गर्न बजेट छुट्याइएको उनले जानकारी दिए ।
‘सिंगो राष्ट्रको सुरक्षाका लागि सीमा सुरक्षा पोस्ट बिस्तार गर्ने मन्त्रिरिषद्को निर्णयअनुसार प्रकृया अगाडि बढेको छ,’ थापाले भने, ‘दक्षिणमा भारतसँग सीमा जोडिएका क्षेत्रमा १ सय ५ र उत्तरमा ७ वटा सशस्त्र प्रहरीका चौकी थप्न प्रकृया अघि बढेको छ ।’
गृहमन्त्री थापाले लिम्पियाधुराको विवाद समाधानका लागि काम सुरु भएको पनि जानकारी दिए । कालापानी क्षेत्रसम्म पुग्ने बाटो निर्माण प्रक्रिया पनि सुरु भएको गृहमन्त्रीले जानकारी दिए ।
भारतले जारी गरेको आफ्नो नयाँ राजनीतिक नक्सामा नेपाली भूमि कालापानी, लिम्पियाधुरा र लिपुलेक समेटेको विषयमा समितिमा छलफल भएको हो ।
समितिले उक्त भूमि फिर्ता गर्न र सीमानामा सुरक्षा व्यवस्था चुस्तदुरुस्त राख्नका लागि निर्देशन दिएको छ ।
तपाईको प्रतिक्रिया