भैरहवा मेलामा एकैदिन २५ हजार दर्शक

समाचार

11/24/2019

भैरहवा, ७ मंसिर । भैरहवामा जारी लम्बिनी पर्यटन प्रबद्र्धन औद्योगिक व्यापार तथा कृषि महोत्सव–२०७६ मा एकैदिन २५ हजार दर्शकले महोत्सव अवलोकन गरेको आयोजकले जनाएको छ ।

मंसिर ३ गतेदेखि सुरु भएको महोत्सवमा हिजो शनिबार पाचौं दिन मात्र २५ हजार दर्शकले महोत्सव अवलोकन गरेको मेला मुल आयोजक समिति संयोजक नारायण प्रसाद भण्डारीले बताए ।

साथै शनिबार मात्र महोत्सवमा १ करोडको कारोबार भएको संयोजक भण्डारीले बताए । उद्योग व्यापार संगठन रुपन्देही तथा नेपाल चेम्बर अफ कमर्स काठमाडौंको मुख्य आयोजनामा भैरहवाको अञ्चलपुरमा संचालन भइरहेको महोत्सवमा पर्यटन र कृषिलाई बिषेश प्राथमिकता दिइएको छ ।

शनिबार निकै भिडभाड रहेको महोत्सवमा दर्शकहरुले महोत्सव स्थलमा निर्माण गरिएको मायाँदेवी मन्दिर र सो भित्र राखिएका विभिन्न पर्यटकीय स्थलहरु अत्यन्तै रुचाएका थिए ।

साथै पशुपतिनाथ मन्दिर आकृतिको सचिवालय, सेल्फि जोन, मायाँदेवी मन्दिर आकृतिको प्रवेशद्वार लगायतमा सेल्फि लिनेको निकै भिड देखिएको थियो ।

विभिन्न क्षेत्रका गरी ४ सय स्टलहरु दर्ता भएको महोत्सवमा शनिबार व्यापार पनि सन्तोषजनक रहेको स्टल नं. २०० का वाइ बी सप्लायर्सका संचालक सुनिता न्यौपानेले बताइन् ।

जुम्लाको मार्सि चामल, विभिन्न समुदायका परिकारहरु, महिला हस्तकलाका विभिन्न समानहरु, पाल्पाली ढाकाका कपडाहरु लगायतमा दर्शकको भिड बढी रहेको स्टल संयोजक रामचन्द्र रेग्मीले बताए ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ