माइतीले छोरी नस्वीकार्दा नागरिकता बनाउन समस्या

समाचार

9/9/2019

महोत्तरी, २३ भाद्र । अन्तजार्तीय विवाह गरेको एक महिलालाई माइतीपक्षबाट सिफारिस नगर्दा नागरिकता बनाउन समस्या भएको छ । नागरिकता नबन्दा चार छोराछोरीको जन्मदर्ता समेत बन्न सकेको छैन ।

महोत्तरी जिल्लाको एकडारा ५ बहेडाकी पुनम महतो र सोही ठाउँका मुकेश पासवानले अन्तजार्तीय विवाह गरेपछि नागरिकता र जन्मदर्ताको समस्या देखिएको हो ।

जन्मदर्ता बनाउन आमा र बुवा दुवैको नागरिकता अनिवार्य गरेपछि यस्तो समस्या देखिएको साझा आवाजका फिल्ड अधिकृत रामेश्वर दासले बताए ।

दुबैबीच २०६८ सालमा विवाह भएको थियो । दुई वर्षको दिल्ली बसाईपछि दुबैजना हाल गाउँमै बस्दै आएका हुन् ।

उनीहरुको सात वर्षको छोरा र तीन छोरी छन् । केही दिन अगाडि मात्रै पुनमले जुम्ल्याहा छोरीको जन्म दिएकी हुन् ।

सोही वडाकी दलित महिला सदस्य स्नेहिया देवी पासवानले यस विषयमा पहल गरेपनि कानुनी प्रावधानका कारण सहयोग गर्न नसकेको बताइन् ।

पुनमले नागरिकता बनाउन पहल गरिदिन मानवअधिकार पैरवी संजाललगायत अन्य सरोकारवालासँग आग्रह गरेपनि समस्या समाधान हुन नसकेको फिल्ड अधिकृत दासले बताए ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ