माघ तेस्रो सातादेखि रेल चल्ने

समाचार

1/22/2020

काठमाडौं, ८ माघ । माघ तेस्रो साताबाट जयननगर–जनकपुर–कुर्था खण्डमा रेल सञ्चालनमा आउने निश्चित जस्तै छ । भारतमा दुई वटा रेल सेट बनिसकेका छन ।

तिनलाई ल्याउन मात्र बाँकी छ । रेल विभागले भने कर्मचारी भर्ना नगरे पनि रेल सञ्चालनमा समस्या नहुने बताएको छ ।

पहिलो चरणमा एक सेट रेल नेपाल ल्याउन लागिएको विभागका महानिर्देशक बलराम मिश्रले जानकारी दिए ।

‘भारतबाट कर्मचारी ल्याएर भए पनि रेल सञ्चालनमा आउनेछ, यसका लागि तयारी भइरहेको छ,’ उनले भने, ‘सुरुमा थोरै कर्मचारीबाट भए पनि काम चलाउँछौं ।’ केही विज्ञ कर्मचारी भारतबाट ल्याउने विषयमा भारत सरकारसँग पनि छलफल गरिने उनले बताए ।

जयननगर–जनकपुर–कुर्था खण्डका विभिन्न स्थानमा आठ स्टेसन रहनेछन । त्यसमध्ये एउटा स्टेसनमा कम्तीमा १५ जना कर्मचारी चाहिन्छ ।

‘रेल चलाउने, हेर्ने र मर्मत गर्ने विदेशी (भारतीय) कर्मचारी लिनुपर्छ,’ उनले भने, ‘अरू कामका लागि नेपाली कर्मचारी राख्छौं ।’ जयनगर, इनरुवा, खजुरी, मैनाथपुर, बैदेही, पर्वा, जनकपुर, कुर्था, प्रिपाडी, बिजलपुरासम्ममा कर्मचारी चाहिन्छ ।

पहिलो चरणमा जयननगर–जनकपुर–कुर्थासम्मको दूरी ३५ किमि हो । यस क्षेत्रको काम सकिसकेको छ । कुर्थादेखि बिजलपुरासम्मको दूरी १७ किमि छ । बिजलापुरदेखि बर्दिबाससम्म पनि १७ किमि दूरी छ । जयनगरबाट बर्दिबाससम्म ६९ किमिको रेल्वे नेटवर्क बन्नेछ ।

रेल सेट खरिदका लागि ८४ करोड ६५ लाख रुपैयाँ विनियोजन गरिएको छ । रेलको एक सेटमा पाँच डिब्बा रहनेछन । दुई सेट रेलमा गरी एकपटकमा दुई हजार पाँच सय जनाले यात्रा गर्न सक्ने विभागका महानिर्देशक मिश्रले जानकारी दिए ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ