काठमाडौं , २९ बैशाख । पहाड र मधेशलाई हेर्ने दृष्टिकोण परिवर्तन गरी सद्भाव र एकता कायम गर्न आह्वान गरी तयार पारिएको नाटक ‘मिता आब कोना चलब’ अनामनगरस्थित मण्डला थिएटरमा मञ्चन भइरहेको छ ।
कलाकार रामभजन कामतको लेखन तथा निर्देशन रहेको नाटकमा पहाडी र मधेशी नागरिकबीच उत्पन्न मतभेद, यसका कारण र आपसी सद्भावका लागि समुदायबाटै गरिएका प्रयत्नका विषय उठान गरिएको छ ।
वैशाख २० गतेदेखि आगामी जेठ पाँच गते सम्म नाटक मञ्चनहुने निर्देशक कामतले बताएका छन् । ‘दुई पटक मधेश आन्दोलनका क्रममा पहाडी र मधेशी समुदायबीचको अन्तरद्वन्द्वले ज्यादै नकारात्मक प्रभाव पार्यो,’ कामत भन्छन्, ‘जसका कारण तराईमा बस्ने पहाडी मूलका र पहाडमा बस्ने मधेशी मूलका नेपाली जनताले लामो समयसम्म तनाव झेल्नु पर्यो, तर भावनात्मक र आपसी एकताका कारण यो अवस्था रहेन, जनतामा एकता पुनः कायम भयो, यही विषयलाई नाटक मार्फत प्रस्तुत गरिएको छ ।’
साथै ‘मिता आब कोना चलब’ ले मधेश आन्दोलनपछिको तराईका नागरिकमा सिर्जित मनोविज्ञानलाई पनि प्रस्तुत गरेको उनले बताए । मिता आब कोना चलब अर्थात् मितज्यू अब कसरी जाने ? नाटकमा सामान्य कृषि कर्म गर्ने मानिसको परिवारमा पारेको असरलाई जीवनत शैलीमा प्रस्तुत गरिएको छ ।
पहाडी खस र मिथिला संस्कृतिको संयोजनले नाटकलाई अन्तर आञ्चलिक विशेषता प्रदान गरेको छ । नाटकमा नेपाली र मैथिली दुवै भाषा प्रयोग गरिएको छ। निर्देशक कामत सहित सुनिता घिमिरे, कौशिला कामत, मिलन नेपाली, विकास पराजुली, राजेश ठाकुर, भरत कार्की, सञ्जय गुप्ता, आदित्य मिश्रा, अमृता श्रेष्ठ, अमृत स्वाँर र शंकर पोखरेलले अभिनय गरेका छन् ।
तपाईको प्रतिक्रिया