मधेशमा विकासका सवालमा समेत खुट्टा तान्ने प्रबृत्ति हाबी : यादव

समाचार

10/26/2019

सिरहा, ९ कार्तिक । राष्ट्रिय जनता पार्टी नेपालका अध्यक्षमण्डलका सदस्य राजकिशोर यादवले विकास निर्माणका सवालमा समेत जनप्रतिनिधिहरू मिल्न नसकेको टिप्पणी गरेका छन् ।

सिरहाको मिर्चैयामा शुक्रबार ज्येष्ठ नागरिक हकहित समाजले गरेको दीपावली तथा छठ पर्वको शुभकामना आदानप्रदान कार्यक्रममा नेता यादवले एउटा पार्टीका जनप्रतिनिधिले अर्को पार्टीका जनप्रतिनिधिसँग बोल्नसमेत नचाहने प्रबृत्ति हाबी भएकाले विकासको कामले गति लिन नसकेको बताए ।

उनले जनप्रतिनिधिहरूले चुनाव जितिसकेपछि पार्टीको नभएर समाजको विषयमा सोच्नुपर्ने सुझाव दिए ।

कुनै पनि क्षेत्र वा स्थानमा एउटा पार्टीका जनप्रतिनिधिले गर्न लागेको काममा अर्कोले खुट्टा तान्ने मानसिकता नहटेसम्म मधेशको सामाजिक र आर्थिक रूपान्तरण हुन नसक्ने पनि बताए ।

नेता यादवले आफ्नै सन्तान तथा घरपरिवारबाट ज्येष्ठ नागरिकहरू अपहेलित भइरहेको प्रति पनि चिन्ता व्यक्त गरे ।

प्रतिनिधिसभाका सांसद्समेत रहेका नेता यादवले सिरहाको मिर्चैया नगरपालिकामा ट्रमा सेन्टर स्थापना गर्ने प्रतिबद्धतासमेत जनाए ।

उनले यसका लागि रकम उपलब्ध गराउने प्रतिबद्धता जनाए पछि मिर्चैयाकै राष्ट्रिय प्रजातन्त्र पार्टीका नेता भोला साहले यसका लागि दुई बिगहा जमिन उपलब्ध गराइदिने बाचा गरे ।

कार्यक्रममा उद्योग, वन, पर्यटन तथा वातावरण राज्यमन्त्री सुरेश मण्डलले ज्येष्ठ नागरिकको हितका लागि प्रदेश २ सरकार प्रतिबद्ध रहेको बताए ।

उनले विभिन्न स्थानमा क्लोथ बैंकको स्थापना भइरहेको भन्दै मिर्चैयामा यो बैंकको खाँचो रहेकोसमेत बताए ।

त्यस्तै, राजपाका केन्द्रीय उपाध्यक्ष रामकुमार मण्डलले भौतिक तथा आर्थिक रूपमा सम्पन्न रहेका ज्येष्ठ नागरिकहरूले आफ्ना सन्तानबाट स्नेह पाउन नसकेको बताए ।

त्यसैगरी, प्रदेश सांसद् दीलिप साहले समाजमा नैतिक शिक्षाको आवश्यकतामाथि जोड दिए । कार्यक्रममा ज्येष्ठ नागरिकहरूले वृद्धाश्रम भवन निर्माणका लागि सहयोग गरिदिन जनप्रतिनिधिहरूसँग आग्रह गरेका थिए ।

कार्यक्रममा नेकपाका नेता जिवछ साह, राप्रपाका नेता भोला साह, ज्येष्ठ नागरिक हकहित समाजका अध्यक्ष राधाकृष्ण साह, सचिव राजेन्द्र साह, वडा अध्यक्ष ललन साह, शिक्षक जनार्दन न्यौपाने, समाजसेवी, बुद्धिजीवीलगायतको सहभागिता थियो ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ