काठमाडौं, २९ कार्तिक । राष्ट्रिय एकता, राष्ट्रियता र मधेशवादप्रति समर्पित रही १५ वर्षदेखि निरन्तर प्रकाशित हुँदै आएको राष्ट्रिय साप्ताहिक मधेशवाणी पुनः राष्ट्रिय ‘क’ वर्गमा पर्न सफल भएको छ ।
प्रेस काउन्सिल नेपालबाट आ.व. २०७४/७५ को वर्गीकरणको प्रक्रियामा सामेल ९१२ वटा पत्रपत्रिका वर्गीकरण गरी नतिजा सार्वजनिक गरिएको छ ।
यसअनुसार ‘क’ वर्गमा १५७, ‘ख’ वर्गमा ३२१, ‘ग’ वर्गमा २३९ र ‘घ’ वर्गमा ४९ गरी जम्मा ७६६ पत्रपत्रिका वर्गीकरणमा परेका छन् ।
३१ पत्रपत्रिका हुबहुमा परेको र १ को प्रकाशन अङ्क नपुगेकाले वर्गीकरणमा समावेश गरिएको छैन भने आवश्यक कागजात पेश नगरेका ६३ र जवाफ पेश नगर्ने ५१ वटा गरी ११४ पत्रपत्रिकाको नतिजा स्थगन गरिएको काउन्सिलले जनाएको छ ।
वर्गीकरणमा समावेश ७६६ मध्ये राष्ट्रियस्तर १५६, प्रदेशस्तर १४२ र स्थानीयस्तरमा ४६८ वटा पत्रिका कायम भएका छन् ।
वर्गीकरणमा समावेश भएकामा दैनिक १४९, अर्धसाप्ताहिक ३, साप्ताहिक ४६५, पाक्षिक १२, मासिक ७०, द्वैमासिक/त्रैमासिक ११ र साहित्यिक÷भाषिक ५६ रहेका छन् ।
प्रेस काउन्सिल ऐन, २०४८ को दफा १० अनुसार गठित वितरण सम्परीक्षण समितिले पत्रपत्रिका वितरण सम्परीक्षण मापदण्ड –२०६६ (परिमार्जन २०७५) को आधारमा वर्गीकरण प्रतिवेदन तयार गरी २०७६/६/१४ मा पेश गरेको थियो । उक्त प्रतिवेदनसमेतका आधारमा काउन्सिलले नतिजा सार्वजनिक गरेको छ ।
विभिन्न आरोह/अवरोह पार गर्दै राष्ट्रिय एकता, राष्ट्रियता र मधेशवादप्रति कटिबद्ध यस मधेशवाणीले सफलतापूर्वक आफ्नो कार्य सम्पादन गर्दै आएको छ ।
कसैप्रति पूर्वाग्रह÷आग्रह नराखी निष्पक्षरूपमा मधेश र समग्र राष्ट्रका समसामयिक मुद्दा उठान गर्दै आएको छ । यस सफलतास“गै मधेशवाणीले आगामी दिनमा पनि राष्ट्र र जनताप्रति समर्पित रहने प्रतिबद्धतासमेत व्यक्त गर्न चाहन्छ ।
तपाईको प्रतिक्रिया