रौतहट, ३ साउन । मधेशी आयोगका अध्यक्ष डा. विजय दत्तले बाढी प्रभावित क्षेत्रको स्थलगत निरीक्षण अवलोकन गरेका छन् ।
गएको असार २८ गतेका दिन आएको विनाशकारी बाढ़ीबाट आक्रान्त बनेका रौतहटको अवस्था बुझ्नका लागि शुक्रबार रौतहट पुगेका आयोगका अध्यक्ष डा.दत्तले प्रभावित क्षेत्र, पीडित व्यक्ति, तथा भारतीय सीमा क्षेत्र समेतको अवलोकन गरेका हुन् ।
विहानै सदरमुकाम गौर पुगेका अध्यक्ष दत्तले गौर नगरपालिका कार्यालयमा नगर प्रमुख अजय कुमार गुप्तासँग बाढ़ीको बेला भएको समस्याको सम्बन्धमा छलफल गरेका छन् । छलफलको क्रममा नगर प्रमुख गुप्ताले २७ गते राति नै आएको बाढीले २८ गते विहानै गौर जलमग्न भएको थियो ।
बागमती नदी र लालबकैया नदीको आएको पानी गौरमा ८ फिट रहेको बेला नगरपालिकासँग रहेको साधनस्रोत तुरुन्तै परिचालन गरी उद्धार गर्ने कार्य शुरू गरेको मेयर गुप्ताले बताए ।
आयोगका अध्यक्ष दत्तलाई विपदको बेलामा नेपाल टेलिकमले निःशुल्क सेवा प्रवाह गर्नु पर्ने पहल गरिदिन आग्रह गरे । गौरदेखि उत्तर पूर्वको कुनामा रहेको झाझ नदीको व्यवस्थापन तथा खाली रहेको बागमती नदीको तटबन्ध निर्माण गराउनु पर्ने जानकारी गराउँदै यसको विषयमा गंभीरताको साथ संघीय सरकारलाइ ध्यानाकर्षण गर्नु पर्ने उल्लेख गरे ।
आयोगका अध्यक्ष दत्त छलफल पछि नेपाल भारत सिमाको अवस्था बारे जानकारी लिए पछि जिल्ला कारागार कार्यालय पुगेर बन्दी कैदीको अवस्था बुझेका थिए । करीव १०० वर्ष पुरानो कारागारमा रहेको कैदी हरुले बाढ़ीबाट ठूलो समस्याको सामना गर्नु परेको दुखेसो पोखेका छन् ।
१२० जना रहने क्षमता भएको कारागारमा २०० भन्दा बढ़ी कैदी भएकोले बस्न, खान, सुत्नमा समस्या भइरहेको उनीहरुले बताएका छन् ।
कारागारको निरीक्षण गर्ने क्रममा महिला बन्दी समक्ष पुगेका दत्त अगाडी महिलाहरुले सामानहरु बाढीले नस्ट गरी दिएकोले उपलब्ध गराई दिनु पर्ने अपील गरेका छन् । उनीहरुले ठाउँ कम भएकोले पशु जस्तै बस्नु पर्ने बाध्यता रहेको गुनासो गरे ।
कारागार पछि आयोगका अध्यक्ष दत्तले प्रमुख जिल्ला अधिकारीसँग छलफल गरेका थिए । रौतहटको अवस्था देखेर दुखित भएका अध्यक्ष दत्तले दुर्गा भगवती गाउँपालिकाका प्रभावित ठाउँ, ईशनाथ, राजपुर नगरपालिका, माधव नारायण नगरपालिकाको प्रभावित ठाउँको निरीक्षण गरेको बुझिएको छ ।
तपाईको प्रतिक्रिया