मन्त्री राईको विशेष पहलमा अस्पतालमा इन्डोर ब्लक निर्माण हुने

समाचार

10/28/2018

दिनेश ठाकुर, नेपालगञ्ज, ९ कार्तिक । सहरी विकास मन्त्री मोहम्मद ईश्तियाक राईको विशेष पहलमा भेरी अञ्चल अस्पताल नेपालगन्जमा विरामीहरुका लागि इन्डोर ब्लक निर्माण हुने भएको छ ।

सहरी विकास मन्त्री राईको पहलमा स्वास्थ्य मन्त्रालयलाई इन्डोर ब्लक निर्माणका लागि अर्थ मन्त्रालयले सहमति प्रदान गरेको हो ।

यो आर्थिक बर्षमा बजेट विनियोजन नभएता पनि सहरी विकास मन्त्री राईले जिम्मेवारी सम्हालेसँगै इन्डोर ब्लक निर्माणका लागि निरन्तर पहलकदमी लिँदै आएका थिए । मन्त्री राईले संसदीय चुनावमा भेरी अञ्चल अस्पताललाई ५ सय शययाको सुविधासम्पन्न अस्पताल बनाउन पहल गर्ने प्रतिबद्धता जनाएका थिए ।

मन्त्री राईको तदारुकतामा स्वास्थ्य मन्त्रालयले असोज १७ गते अर्थ मन्त्रालयलाई पत्राचार गरी भेरी अञ्चल अस्पतालको आवास तथा नयाँ इन्डोर भवन निर्माणका लागि सहमति माग गरेको थियो । सोही बमोजिम कार्तिक ८ गतेको मन्त्रीस्तरीय निर्णयबाट इन्डोर ब्लक निर्माण कार्य अघि बढाउन अर्थ मन्त्रालयले सहमति प्रदान गरेको हो ।

२८ परिवार क्षमताको आवास गृह बनाउने सन्दर्भमा भने अर्थ मन्त्रालयले तत्काललाई श्रोत अपर्याप्त रहेको भन्दै सहमति प्रदान गर्न नसकिएको जनाएको छ । सहरी विकास मन्त्री राईको पहलमा यसअघि भेरी अञ्चल अस्पतालमा क्याथ ल्याब (मुटु रोग सम्बन्धी) निर्माणार्थ अर्थ मन्त्रालयले डेढ करोड रुपैयाँ उपलब्ध गराउने निर्णय गरेको थियो ।

सहरी विकास मन्त्रीको जिम्मेवारी पाए लगत्तै राईले भेरी अञ्चल अस्पतालको स्तरबृद्धिका लागि आफूले सक्दो पहल गर्ने प्रतिबद्धता जनाएका थिए । संघीय समाजवादी फोरम नेपालबाट सरकारमा सहभागि मन्त्री राईले आफ्नै पार्टीका अध्यक्ष उपेन्द्र यादवले नेतृत्व गरिरहेको स्वास्थ्य मन्त्रालयमार्फत भेरी अञ्चल अस्पतालको स्तरोन्नतीका लागि अग्रसरता देखाएका छन् ।

इन्डोर ब्लक निर्माणमा अर्थ मन्त्रालयले सहमति जनाएको सन्दर्भमा प्रतिक्रिया दिँदै सहरी विकास मन्त्री राईले भेरी अञ्चल अस्पतालको स्तरबृद्धिका लागि आफू निरन्तर प्रयत्नरत रहेको बताए । मन्त्री राईले भने, ‘भेरी अञ्चल अस्पतालको स्तरबृद्धि गर्दै ५ सय शययाको बनाउन पहल भईरहेको छ । चाँडै नै भेरी अञ्चल अस्पताललाई अत्याधुनिक सुविधायुक्त बनाउन मेरो पहल जारी रहने छ ।’

भेरी अञ्चल अस्पतालमा स्वास्थ्यकर्मीहरुका लागि आवासीय भवन र विरामीहरुका लागि ईन्डोर भवन बनाउन १२ बर्षअघि देखि पहल भईरहेको भएपनि सार्थक हुन सकेको थिएन ।

विरामीको चाप अनुसार इन्डोर ब्लकको आवश्यकता टड्कारो देखिएको अस्पतालका डक्टरहरुको भनाई छ । मेडिकल सुपेरिटेन्डेन्ट अधिकारीले हाल चिकित्सकहरुको आवास रहेको १, २ र ३ नम्बर व्लकमा विरामीहरुका लागि ईन्डोर ब्लक बनाउने योजना रहेको जानकारी दिए । भेरी अञ्चल अस्पतालमा हाल १ सय ५० शयया रहेको मेडिकल सुपेरिटेन्डेन्ट रुपानन्द अधिकारीले जानकारी दिए ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ