मेयर कपको उपाधि वडा नं. १ लाई

समाचार

1/21/2019

रौतहट, ७ माघ । रौतहट जिल्लाको सदरमुकाम गौरमा सञ्चालित मेयर कप च्याम्पियनशिप टी ट्वेन्टी क्रिकेट टूर्नामेन्ट २०७५ को उपाधि गौर नगरपालिका वडा नम्बर १ ले जितेको छ ।

करण साहको धुँवाधार बल्लेबाजीको कारण वडा नम्बर १ का टीमले फाइनल मुकावलामा प्रतिद्वन्द्वी टीम वडा नं. ५ लाई पराजित गर्दै जित हासिल गरेको हो ।

ऐतिहासिक गौर राईस मिलको मैदानमा सोमबार भएको फाइनल मुकावलामा वडा नम्बर १ ले दिएको १९९ रनको संघर्षपूर्ण चुनौतीका सामना गर्न बल्लेबाजी गर्न आएका वडा नम्बर ५ ले १२८ रनमा सबै विकेट गुमाई ७१ रनले म्याचमा पराजित भएका छन् ।

टस जितेर पहिले बल्लेबाजी गरेको वडा नम्बर १ ले निर्धारित २० ओभरमा ५ विकेटको क्षतिमा १९८ रनको स्कोर खडा गरेको थियो । विजेता टीमका करण साहले सर्वाधिक ९४ रन बनाएर मैन आफ दी मैच घोषित भएका छन् ।

प्रतियोगिताका विजेता टीमलाई नगद २५ हजार तथा उपविजेता टीमलाई नगद १५ हजार पुरस्कार दिइएको छ । विजेता र उपविजेता टीमलाई गौर नगरपालिकाका प्रमुख अजय कुमार गुप्ताले शील्ड प्रदान गरेका थिए ।

गौर नगरपालिकाका आर्थिक सहयोगमा आयोजना गरिएको प्रतियोगिताको समापन मन्तव्य दिँदै मेयर गुप्ताले खेल शान्तिपूर्ण वातावरणमा सम्पन्न भएको र दुवै टीमका खिलाडीहरुले राम्रो खेल प्रदर्शन गरेको बताएका छन् ।

उनले खेलमा हारजीत हुनु स्वाभाविक भएकोले उपविजेता टीमका खिलाड़ीहरुलाई हौसला नबिराउन आग्रह गर्दै थप सुधार गर्दै जानू पर्ने सुझाव दिए । वडा अध्यक्ष भरत साहले विजयी भएका आफ्ना टिमका सबै खिलाडीहरुलाई बधाई तथा धन्यवाद दिएका छन् ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ