युवक हत्या घटनाको चर्चा प्रदेशस्तरमा

समाचार

11/19/2019

महोत्तरी, ३ मंसिर । महोत्तरीको एकडारा गाउँपालिका २ बेलाका एक युवकको हत्या भएको दुई महिना बितिसक्दासमेत अपराधी कारवाहीको दायरामा नआएपछि मानवअधिकारकर्मीहरु यस घटनाको चर्चा प्रदेशस्तरमा गरेका छन् ।

सिरहाको लहानमा प्रदेश १ र २ का दलित एवं गैरदलित मानवअधिकारकर्मी एवं समूदायको सहभागितामा आयोजित विश्वव्यापी आवधिक समिक्षा प्रतिवेदन तयारी कार्यशाला यी विषयको उठान भएको हो ।

सोही कार्यशालामा यी बाहेक दलित समूदायका भूमि र आवासको ब्यबस्था, सीप र सशक्तिकरण, छुवाछुत र विभेद अन्त्य हुनुपर्नेसहितको विषय उठान भएको थियो ।

कार्यक्रममा १८ बर्षीय युवक विकेश कुमार बैठाको हत्या सम्बन्धि मुद्धामा सुरक्षा निकायले दलितको घटना भएकोले संवेदनशिलता नदेखाएको हुन सक्ने विषय आफूले उठान गरेको मानवअधिकार पैरवी संजाल एकडाराका संयोजक सकिचन्द्र यादवले बताए ।

उनले दोषी पत्ता लगाउन नाराजुलससहित जिल्ला प्रशासन कार्यालयमा ज्ञापन पत्र बुझाएपनि कुनै किसिमको संतोषजनक सूचना नआएपछि बाध्य भएर मानवअधिकारसँग सम्बन्धित ठाउँहरुमा आवाज उठाउन थालेको बताए ।

साझा आवाज परियोजना अन्तर्गत आयोजित यस कार्यशालाको उद्घाटन सत्रमा प्रदेश २ का आन्तरिक मामिला तथा कानून राज्यमन्त्री सरोज सिंह कुशवाहाको समेत उपस्थिति थियो ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ