काठमाडौं, २३ बैशाख । भारतका अधिकारीले रक्सौल–काठमाडौं रेलमार्गको अध्ययन थालेका छन् ।
काठमाडौंसम्म रेल ल्याउन दुई छिमेकी मुलुकको चासो देखिएपछि प्राविधिकले रेल चढ्ने नेपालीको सपना पूरा हुन सक्ने अपेक्षा गरेका छन् ।
रेल विभागका सिनियर डिभिजनल इन्जिनियर अमन चित्रकारले केरुङ–काठमाडौं रेलमार्ग निर्माणबारे चिनियाँ पक्षसँग छलफल जारी रहेको बेला भारतीय अधिकारीहरूले रक्सौल–काठमाडौं रेलमार्ग निर्माणका लागि अध्ययन सुरु गरेको बताए ।
भारतीय अधिकारीहरूले काठमाडौं जोड्नलाई रक्सौलदेखि अध्ययन सुरु गरे पनि त्यसबारेको विस्तृत जानकारी भने नेपाली पक्षलाई दिएका छैनन् ।
केरुङ–काठमाडौं रेलमार्ग निर्माणका लागि भने नेपाली र चिनियाँ अधिकारीबीच औपचारिक रूपमा तीनपटक छलफल भइसकेको छ ।
विभागका प्रवक्तासमेत रहेका चित्रकारका अनुसार दुईपटक नेपालमा र एकपटक चीनमा सम्पन्न बैठकको अहिलेसम्मको प्रगति सकारात्मक छ । चाँडै हुने चौथो बैठकको तयारी भइरहेको उनले जानकारी दिए ।
तपाईको प्रतिक्रिया