काठमाडौं, ३० असोज । जनकपुर विमानस्थलमा बुद्ध एयरको काउन्टर तोडफोड गरेको आरोपमा पक्राउ परेका आफ्ना सांसद प्रमोद साहलाई रिहा गर्न माग गर्दै राष्ट्रिय जनता पार्टी (राजपा) नेपालले आन्दोलनको घोषणा गरेको छ ।
राजपा अध्यक्षमण्डलको बैठकले गृहमन्त्री रामबहादुर थापाको पुतला दहनदेखि धनुषा बन्दसम्मको आन्दोलनको कार्यक्रम घोषणा गरेको हो ।
सांसद पक्राउ परेको विरोधमा राजपाले बिहिबार जनकपुरस्थित जनकचोकमा गृहमन्त्री थापाको पुतला दहन गर्ने कार्यक्रम रहेको जनाएको छ । यसैगरी गृहमन्त्रीका साथै संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्रीको समेत पुतला जलाइने उसले बताएको छ ।
विरोध कार्यक्रमअन्तर्गत शुक्रबार मशाल जुलुस प्रदर्शन र शनिबार धनुषा बन्द गर्न राजपाले आव्हान गरेको छ । यसैगरी बुद्ध एयरले स्तरीय सेवा दिन नसकेको भन्दै उडान अनुमति खारेजी र जनकपुर विमानस्थलका प्रमुख सन्तोष ढकालले सांसद साहविरुद्ध झुटा मुद्दा दर्ता गराएकोले कारबाही गर्न पनि राजपाले माग गरेको छ ।
यता जनकपुर उद्योग वाणिज्य संघले भने कुनैपनि बन्द हड्तालको कार्यक्रम नगर्न आन्दोलनरत पक्षसँग आग्रह गरेको छ । दीपावली र छठजस्ता महत्वपूर्ण पर्वहरु नजिक रहेको भन्दै वाणिज्य संघले बन्द हड्तालजस्तो विरोधको कार्यक्रम नगर्न विज्ञप्तिमार्फत आग्रह गरेको हो ।
तपाईको प्रतिक्रिया