राजपुर नपामा साढे ५ करोड रकम अनियमिता

समाचार

7/9/2019

रौतहट, २४ असार । रौतहट जिल्लाको राजपुर नगरपालिकामा सामाजिक सुरक्षाको करोडौँ रकम अनियमिता भएको छ ।

जेष्ठ नागरिक, अपांग, एकल महिलाहरुले पाउनु पर्ने रकम नगरपालिकाको नगर प्रमुख मोहमद सकिल अख्तर, तत्कालीन निमित्त प्रमुख प्रसाशकीय अधिकृत, लेखा अधिकृत मोहमद दाऊदको मिलोमातो गरी गत आर्थिक वर्ष ०७५।०७६ को ३ करोड रकम विकासतर्फ पेशकीमा खर्च गरेको कारण जेष्ठ नागरिक, बाल बालिकाहरु सामाजिक सुरक्षाको भत्ताबाट वंचित भएका छन् ।

नगरपालिकाको प्रमुख प्रसाशकीय अधिकृत गोविन्द सिग्देलले नगरपालिकाको अवस्था लथालिंग रहेको बताएका छन् । आर्थिक कारोबार भद्रगोल देखिएको बताउँदै सिग्देलले सामाजिक सुरक्षाको रकम पनि विकासको कार्यमा खर्च गरेको पाइएको छ । पूंजीगत र चालू गरी ५ करोड ४९ लाख पेशकी रहेको जानकारी गराएका छन् ।

पहिलाको निमित प्रमुख प्रसाशकीय अधिकृत र लेखा अधिकृतले कानून विपरीत गरेको खर्च अहिले नगर पालिका माथि ठूलो आर्थिक भर थपिएको जिकिर गरे । उनले भने बजेटभन्दा बढी खर्च गरिएकोले भुक्तानी दिने अवस्था रहेको छैन ।

आर्थिक वर्ष २०७३ र ०७४ सालको १ करोड ९४ लाख ४० हजार रुपैयाँ तिर्न बाँकी रहेकोले नगरपालिका चलाउन धौधौ पर्ने अवस्था आएको टिप्पणी गरे ।

अधिकृत सिग्देलका अनुसार सामाजिक सुरक्षाको रकम मन्त्रालयले जुनसुकै शीर्षकबाट भए पनि वितरण गर्नु पर्ने ठाडो निर्देशन भएको भएपनि रकम नै नरहेकोले कहाँबाट कसरी वितरण गर्ने भनी निर्णय लिन गा¥हो भएको छ ।

कार्यालयका लागि करीब ८० लाख बराबर इलेक्ट्रोनिक्स सामान कम्प्यूटर, पंखा, खरीद भएको कागज देखिए पनि कार्यालयमा उपलब्ध नरहेको बताए ।

सोमबार २ नम्बर वडाका निर्वाचित वडा अध्यक्षको समूहले २०७३।०७४ को योजनाको २ लाख ५० हजार रुपैयाँ भुक्तानी दिनु पर्ने भन्दै कार्यालयमा तालाबन्दी गर्न समेत पुगेको बताए ।

कार्यालयमा एक सुक्का पनि नरहेको अवस्थामा जनप्रतिनिधिहरु भुक्तानी दिन दबाब दिँदै आएको गुनासो सुनाए । व्यवस्थित गर्न नै मुश्किल भएको भने अधिकृत सिग्देलले भएको अनियमिता बारेमा छानविन गर्न सम्बन्धित मंत्रालयले पत्रसहित आग्रह समेत गरेको बताए ।

राजपुर नगरपालिकामा कर्मचारीहरुको विवाद अहिलेसम्म समाधान हुन सकेको छैन । तत्कालीन गाउँ विकास समिति हुँदाको बेलामा सडक, नहर, मर्मत निर्माणको नाउँमा बजेट गएपनि कागजमै बजेट सकिने ठाउँको रुपमा परिचित रहेको हो ।

नगरपालिकामा संघीयता आइसकेपछिको रबैया उस्तै रहेको छ । एउटै सडकमा बजेट लगनी भएपनि स्थलगत रुपमा कार्य नहुने ठाउँ पनि राजपुर नै हो ।

२०४७ सालदेखि शासन गर्दै आएका परिवारले अहिलेसम्म शासन गरिरहेको छ । चालू आर्थिक वर्षमै गण्डक नहर सफाईमा २ करोडभन्दा बढी रकम खर्च गरिए पनि त्यो खर्च सार्थक सावित हुन सकेन । नहरमा पानी आउने आशा गरेका किसानहरु आफ्नै स्रोत साधन प्रयोग गरी धान रोपाई शुरू गरेका छन् ।

स्वर्गीय पूर्वमन्त्री शेख इदरीसको नाउँबाट गौर–चन्द्रनिगाहपुर सडकखण्डअन्तर्गत झुनखुनवा नजिक हुलाकी सडकमा बनाइएको प्रवेशद्वार विगत वर्षदेखि अहिलेसम्म अलपत्र अवस्थामा रहेको छ ।

नेपाली कांग्रेसका नेता तथा प्रतिनिधिसभा सदस्य मोहमद आफताब आलमको गाउँ तथा निर्वाचन क्षेत्रअन्तर्गत राजपुर फरहदा पर्दछ । सो निर्वाचन क्षेत्रमा सबैभन्दा बढी मतदाता संख्या भएको गाउँको रुपमा राजपुर फरहदवाको पहिचान रहेको भएपनि विकासको मामिलामा पछाडि परेको छ । शिक्षा, स्वास्थ्यको अवस्था पनि दयनीय रहेको छ ।

प्रजातन्त्रदेखि लोकतन्त्र गणतान्त्रिक व्यवस्थामा पनि मन्त्री हुँदै आएपनि सामाजिक विकास, भौतिक पूर्वाधारको हिसाबले समृद्ध नभए पनि बजेट अनियमितताको क्षेत्रमा अग्रणी स्थान ओगेटेको छ ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ