जनकपुरधाम, २६ कार्तिक । राष्ट्रिय जनता पार्टी नेपाल अध्यक्षमण्डलको बैठक मंगलबार जनकपुरमा बस्दै छ ।
आगामी मंसिर १४ गते हुने स्थानीय तह उपनिर्वाचनका लागि उम्मेदवार टुंगो लगाउन अध्यक्षमण्डलको बैठक बस्न लागेको हो । बैठकमा भाग लिन अध्यक्षमण्डलका सदस्यहरु जनकपुर पुगेका छन् ।
स्थानीय तह उपनिर्वाचनमा मनोनयन दर्ताका लागि बुधबार बिहान १० बजेदेखि अपरान्ह १ बजेसम्म समय तोकिएको छ ।
अध्यक्षमण्डलको बैठकमा भाग लिन अध्यक्षमण्डलका संयोजक महन्थ ठाकुर जनकपुर गएका छन् ।
स्थानीय तह निर्वाचनमा समाजवादी पार्टीले राजपासँग सहकार्य गर्ने निर्णय गरे पनि सहकार्यको सम्भावना न्यून रहेको स्थानीय नेताहरुको दाबी छ ।
यसअघि राजपाले जितेको स्थानमा राजपा र समाजवादीले जितेको स्थानमा समाजवादीले उम्मेदवारी दिने मोटामोटी सहमति गरिए पनि समाजवादीका उम्मेदवार निर्वाचित भएको सर्लाहीको एक वडामा राजपाले उम्मेदवारी दिने तयारी गरेपछि सहकार्यको सम्भावना टरेको बताइएको छ । यद्यपि अध्यक्षमण्डलको बैठकले यसबारे अन्तिम टुंगो लगाउने राजपाका एक नेताले बताए ।
मंसिर १४ गते प्रदेश २ को महोत्तरीस्थित पिपरा गाउँपालिकामा अध्यक्ष पदको लागि निर्वाचन हुँदै छ ।
राजपाबाट निर्वाचित विनोद चौधरीको निधन भएपछि त्यहाँ उपनिर्वाचन हुन लागेको हो । राजपाले अध्यक्षका लागि चौधरीकी श्रीमतीलाई उम्मेदवार बनाउने तयारी गरेको छ भने समाजवादीले रामजनम यादवलाई अघि सारेको छ । यसैगरी नेपाली कांग्रेसले विजय यादव र नेकपाले विक्रम यादवलाई उम्मेदवार बनाएको छ ।
तपाईको प्रतिक्रिया