काठमाडौं, २८ असोज । जहाज ढिलो भएको भन्दै जनकपुर विमानस्थलमा तोडफोड गरेका राष्ट्रिय जनता पार्टी नेपालका सांसद प्रमोदकुमार साह पक्राउ परेका छन् । साहलाई महानगरीय अपराध महाशाखाको टोलीले त्रिभुवन विमानस्थलको आन्तरिक टर्मिनलस्थित भीआईपी कक्षबाट पक्राउ गरेको हो ।
अपराध महाशाखाका प्रमुख एसएसपी सहकुल थापाले जिल्ला अदालत धनुषाबाट पक्राउ पूर्जी जारी भएपछि प्रहरी टोलीले आन्तरिक टर्मिलनको भीआईपी कक्षबाट उनलाई पक्राउ गरेको जानकारी दिए ।
जनकपुर विमानस्थलस्थित बुद्ध एयरको काउन्टर तोडफोड गर्दै कर्मचारीमाथि अभद्र व्यवहार गर्ने सांसदविरूद्ध जनकपुर जिल्ला अदालतले पक्राउ पूर्जी जारी गरे पछि प्रहरीले उनलाई पक्राउ गरेको हो । नेपाल नागरिक उड्डयन प्राधिकरणको जाहेरीमा जिल्ला प्रहरी कार्यालय धनुषाको अनुरोधपछि अदालतले प्रतिनिधि सभाका सांसद साहविरूद्ध पक्राउ पूर्जी जारी गरेको थियो ।
थापाका अनुसार साह ओखलढुंगा जानका लागि आन्तरिक टर्मिनलको भीआईपी कक्षामा बसिरहेका थिए । साहले सोमबार ११ बजेर २० मिनेटमा आउनुपर्ने बुद्ध एयरको जहाज दिउँसो साढे १ बजेसम्म पनि नआएको भन्दै आक्रोशमा जनकपुर विमानस्थलस्थित बुद्ध एयरको काउन्टरमा तोडफोड गरेका थिए ।
जिल्ला प्रहरी कार्यालय धनुषाका प्रमुख एसपी शेखर खनालले बुद्धको काउन्टर तोडफोडपछि सांसद साहले गल्ती स्वीकार्दै माफी मागेको बताएका थिए । बुद्ध एयरको चेक काउन्टरमा तोडफोड र कर्मचारीमाथि दुव्र्यवहारमा संलग्न साहमाथि कारवाही नभए जनकपुरमा जहाज नउडाउने चेतावनी वायुसेवा संचालक संघले सोमबारै दिएको थियो ।
तपाईको प्रतिक्रिया