रौतहटका उखु किसानहरु मारमा

समाचार

10/28/2019

रौतहट, ११ कार्तिक । रौतहटको गरुडामा रहेको श्रीराम सुगर मिलले उखु किसानको भुक्तानी नदिएपछि किसानहरु मारमा परेका छन् ।

हिन्दुहरुको महानपर्व दिपावली तथा छठ पर्वको समयमा समेत किसानहरुले भूक्तानी नपाएपछि किसानहरु चिन्तित बनेका हुन् ।

वर्षभरिको मिहिनेत र लगानीबाट उब्जाएको उखु बालीको रकम पर्वको समयमा समेत नपाएपछि उखु उत्पादक किसानहरु चिन्तित भएका छन् ।

चिनी उधोगीले उखु उत्पादक संघ रौतहटका पदाधिकारीलाई पटक–पटक वार्ताका लागि काठमाडौंमा बोलाएर खालीहात फर्काएका छन् ।

उद्योगी र संघका पदाधिकारीबीच गत शनिवार काठमाडौंमा भएको वार्तामा उद्योगपति हृतेश गोल्छाले किसानको बक्यौता रकम तत्काल दिन नसक्ने र बिस्तारै–बिस्तारै चुक्ता गर्ने बताएको बैठकमा सहभागी संघका सचिव मनोज सहनीले जनाएका छन् ।

गोल्छाको त्यस्तो जवाफ आएपछि आफुहरु उधोगमन्त्री मातृका यादवसँग भेटन मन्त्रालय पुगे तर उहाँसंग भेटघाट हुन नसकेको दु्खेसो उनले पोखेका हुन् ।

कुनै उपाय नलागेपछि दुई दिनअघि जिल्ला प्रशासन कार्यालयमार्फत रकम भुक्तानीको पहलका लागी ज्ञापनपत्र बुझाइएको सचिव सहनीले बताएका छन् ।

सो चिनी मिल माथि किसानको पुरानो बक्यौता १२ करोड र गत बर्षको ३२ करोड गरी कूल ४४ करोड रुपैयाँको भुक्तानी प्रकृया सुरु नभए छठपर्व पछि मिलमा तालाबन्दी गरी कडा रुपमा सडक आन्दोलनमा उत्रने संघले चेतावनी समेत दिएका छन् ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ