रौतहट, २९ असार । रौतहट जिल्लामा बाढीको कारण जनजीवन कष्टकर बनेको छ । केही दिनदेखि परेको अविरल वर्षाको कारण आएको बाढीले जनजीवन प्रभावित भएको हो ।
लाल बकैया र बागमती नदीमा आएको बाढीले गाउँमा पानी प्रवेश गरेपछि अवस्था दयनीय भएको छ ।
गौर आसपासका क्षेत्रहरु अहिले पनि जलमग्न रहेको छ । बाढीको कारण बाटो अवरुद्ध भएको छ । प्रभावितहरु अग्लो र सुख्खा ठाउँमा शरण लिएका छन् ।
बाढी पीडितहरु राहत पाएको छैन । वर्षा र बाढीले घरहरु क्षतिग्रस्त भएका छन् । पानीको सतह कम भएपछि राहत पुर्याउने प्रयास स्थानीय सरकारले शुरू गरेको बुझिएको छ ।
बाढीबाट रौतहटमा अहिलेसम्म ५ जनाको मृत्यु भएको छ भने १ जना अझ बेपता छन् । मृत्यु हुनेहरुमा गौर नगरपालिका वडा नम्बर ३ का ४० वर्षीय शिवमंगल पटेल, उमेश राउत, यमुनामाई गाउँपालिकाका गायत्री देवी, ईशनाथ नगरपालिकाका हरेन्द्र राय तथा दुर्गाभगवती गाउँपालिकाका वीरेन्द्र झा रहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरीक्षक नविन कार्कीले बताएका छन् ।
बेपता भएका गढीमाई नगरपालिकाका आनन्दी देवीको खोजी कार्य जारी रहेको छ । बाढीले रौतहटमा ठूलो क्षति पुर्याएपनि यथार्थ विवरण आउन बाँकी रहेको छ ।
तपाईको प्रतिक्रिया