जनकपुर, २४ कार्तिक । । पूर्व राष्ट्रपति डा. रामवरण यादव चुरे विनाशप्रति चिन्ता व्यक्त गरेका छन् । उनले चुरेको संरक्षणको नाउँमा जतिसुकै बजेट खर्च गरिएपनि राजनीतिक नेतृत्व तहमा रहेकाहरुको नियतमा सुधार नभए चुरे जोगाउन मुस्किल पर्ने बताए ।
मदन भण्डारी राजमार्गको नाउँमा सरकारले सिधै चुरेको पेट र छातिमा डोजर चलाइरहेको पनि यादवले टिप्पणी गरे । नेपाल साहित्य महोत्सवको दोस्रो दिन शनिबार जनकपुरस्थित रामजानकी विवाह मण्डपपरिसरमा आयोजित ‘चुरेको चिन्ता’ विषयक विमर्श कार्यक्रममा पूर्व राष्ट्रपति डा. यादवले भने,‘राजमार्ग र विकासको नाउँमा डोजर आतंक मचाउने सरकार तथा जनप्रतिनिधिलाई आफ्नै भविष्यमाथि बन्चरो हानिरहेको हेक्का नहुनु चिन्ताको विषय हो ।’पहाडमा मध्य–पहाडी राजमार्ग, चुरेको फेदमा पूर्व–पश्चिम राजमार्ग तथा तराईमा हुलाकी राजमार्ग र बीचमा पूर्व–पश्चिम रेलवे निर्माण भइरहेकै उल्लेख गर्दै उनले फेरी चुरे क्षेत्रलाई नै ध्वस्त पार्ने मदन भण्डारी राजमार्ग कसको लागि प्रश्न गर ।
ठेकेदार र भू तथा वन पैदावार माफियाहरुलाई टिकट बाँड्ने राजनीतिक दलहरुको संकुचित सोचको कारण चुरेसँगै मुलुकको प्राकृतिक उपहार ध्वस्त भइरहेको उनको टिप्पणी थियो ।चुरे विनाश भएर मधेशको उर्वरभूमि मरुभूमिकरण भइरहेको उल्लेख गर्दै यादवले नेपाली राजनीतिक नेतृत्व यसप्रति गम्भीर नरहेको आरोप लगाए ।
‘२०३६ सालमा ५० फिट मुनि पाउने जनकपुरको भूमिगत पानी अहिले ५५० फिट तल गइसक्यो,’ उनले थपे, ‘चन्द्रमामा पानी आपूर्तिको लागि चिन्ता भइरहेको बेला हामीसँग सहजै प्राप्त हुने पानी दुर्लभ हुँदैछ । यसलाई बचाउन कहिले चिन्तन गर्ने ? ’पूर्व प्रधानमन्त्री माधवकुमार नेपालले चुरे संरक्षण तथा राजमार्ग निर्माण प्रक्रियामा सरकार अत्यन्तै लापर्वाह देखिइरहेको आरोप लगाए । नेपालले भने, ‘माथि मध्य पहाडी राजमार्ग, बीचमा पूर्व–पश्चिम राजमार्ग र तराईमा हुलाकी राजमार्ग भइसकेपछि पूर्व–पश्चिम जोड्न अरु धेरै राजमार्ग किन चाहियो मैले बुझ्नै सकिरहेको छैन ।
’चुरेको संवेदनशिलतावारे नेकपा नेतृत्वको सरकार गम्भीर नरहेको उल्लेख गर्दै पूर्व प्रधानमन्त्री नेपालले निजगढ विमानस्थल निर्माणको नाउँमा पनि अनावश्यक वन विनास गर्ने षडयन्त्र भइरहेको टिप्पणी गरे ।
तपाईको प्रतिक्रिया