जलेश्वर, १ असार । स्थानीय तहका लागि लोकसेवा आयोगले गरेको विज्ञापन खारेजीको माग गर्दै मधेश अधिकार संघर्ष समिति (मास)ले लोकसेवा आयोगको कार्यालयमा तालाबन्दी गरेको छ ।
जलेश्वरस्थित रहेको लोकसेवा आयोगको कार्यालयमा आइतबार मासका संयोजन समिति सदस्य सरोज मिश्रको नेतृत्वमा गएको टोलीले तालाबन्दी गरेको हो ।
तालाबन्दी गरेको केही बेरमै सुरक्षाकर्मीले ताल्चा फुटाएका थिए । मासका संयोजन समिति सदस्य मिश्रले यो एउटा सांकेतिक विरोध मात्रै भएको मधेशवाणीलाई बताए ।
उनले यो विज्ञापन फिर्ता नभए कडा संघर्षको बाटो अपनाउन बाध्य हुने चेतावनीसमेत दिएका छन् । मासले भोली प्रदेश २ का मुख्यमन्त्रीसँग भेटेर यसबारे विस्तृत छलफल गर्ने मिश्रले जानकारी दिए ।
उनले भने, ‘लोकसेवा आयोगले समावेशिताको सिद्धान्तलाई उल्लंघन गरेको छ । मधेशको ठूलो बलिदानीबाट आएको समानुपातिक समावेशितालाई लोकसेवा आयोगले बेवास्ता गरेको छ ।’
यता, मुख्यमन्त्री राउतले पनि लोकसेवा आयोगको सो विज्ञापन प्रदेश २ मा लागू नहुने बताइसकेका छन् । प्रदेश सरकारले प्रदेश लोकसेवा आयोग गठन गर्ने प्रक्रियासमेत सुरु भइसकेको मुख्यमन्त्रीको दाबी छ ।
तपाईको प्रतिक्रिया