जनकपुरधाम, ३१ असार । केही दिन यताको अविरल वर्षा र बाढीले प्रभावित परिवारको राहतका लागि प्रदेश नं. २ का मुख्यमन्त्रीदेखि राज्यमन्त्रीसम्मले एक महिनाको तलब दिने भएका छन् ।
मन्त्रिपरिषद्को मंगलबार बसेको बैठकले राहत, उद्धार तथा पुनःस्थापनालाई तीव्र बनाउने निर्णय गर्दै एक महिना बराबरको तलब राहत कार्यमा लगाउने निर्णय गरेको हो ।
यसका साथै मन्त्रिपरिषद्ले साउन १ गतेदेखि प्रदेशका सबै मन्त्री, राज्यमन्त्री र प्रदेशसभा सदस्यहरुलाई आ–आफनो क्षेत्रमा गई राहत कार्यमा जुट्न आग्रह गरेको छ ।
बाढीले प्रभावित परिवारहरुलाई राहत कार्यमा कुनै कमी हुन नदिन प्रदेशका प्रमुख सचिव दिपक सुवेदीको संयोजकत्वमा सबै मन्त्रालयका सचिव रहने गरि राहत आपूर्ति तथा अनुगमन समिति समेत गठन गरेको छ ।
उक्त समितिले राहतका लागि आवश्यक सामग्रीको आपूर्ति सहित अनुगनम र निरीक्षण समेत गर्नेछन् । प्रदेश सरकारले यसअघि राहत वितरणका लागि प्रत्येक जिल्लालाई पठाएको १० लाख रकमको अनुगमन समेत सोही समितिले गर्नेछ ।
प्रदेश सरकारले यसअघि नै बाढीबाट मृत्यु हुनेको परिवारलाई ३ लाख राहत उपलब्ध गराउने निर्णय गरि सकेको छ ।
तपाईको प्रतिक्रिया