काठमाडौं, ६ साउन । नेपालका पहिलो जननिर्वाचित प्रधानमन्त्री विश्वेश्वरप्रसाद कोइरालाको ३७ औं स्मृति दिवस आज मनाइँदैछ ।
नेपाली कांग्रेसका संस्थापक कोइराला २०१५ सालको आमचुनावमा कांग्रेसले दुई तिहाइ बहुमत ल्याएपछि पहिलो जननिर्वाचित प्रधानमन्त्री बनेका थिए । २०१५ सालको आमनिर्वाचनमा काँग्रेसले दुई तिहाइ बहुमत प्राप्त गरेपछि प्रधानमन्त्री बनेका कोइरालाले नेपालमा राष्ट्रियता, प्रजातन्त्र र समाजवाद स्थापनाका लागि राजनीतिक नेतृत्व प्रदान गरेका थिए । तर, जननिर्वाचित सरकारलार्ई तत्कालिन राजा महेन्द्रले २०१७ साल पुस १ गते अपदस्त गरि निरंकुश शासन शुरु गरेपछि कोइरालासहित नेतालाई सिंहदरबारमै बन्दी बनाइएको थियो । एक महिनापछि काठमाडौको सुन्दरीजलमा उनी लगायत प्रथम सभामुख कृष्णप्रसाद भट्टराई, कांग्रेस नेता गणेशमान सिंह लगायतलाई बन्दी बनाइएको थियो । २०२५ सालमा स्वास्थ्य परीक्षणका लागि कारागारमुक्त कोइरालाले आठ वर्षसम्म भारतमा निर्वासित भए । तर विदेशी भूमिमा निर्वासत भएर स्वदेशको प्रजातन्त्र पुनःस्थापनाका लागि लड्दा राष्ट्रियता कमजोर भएको र अपमान सहनुपरेको विश्लेषण गरी उनी २०३३ साल पुस १६ गते राष्ट्रिय एकता तथा मेलमिलापको नीति लिई स्वदेश फर्केका थिए । त्यसबेला आठवटा ज्यान मुद्दा लगाइएका बीपीलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट सिधै सुन्दरीजल बन्दी गृहमा लगिएको थियो । उनले प्रवद्र्धन गरेको प्रजातान्त्रिक समाजवाद र मेलमिलापको नीति अहिले पनि सान्दर्भिक मानिन्छ । आफ्नो प्रधानमन्त्रीत्वकालमा उनले गाउँको विकास, भूमिसुधार र सामन्तवाद अन्त्य गर्न विभिन्न नीतिगत योजना निर्माण र कार्यान्वयन गरेका थिए ।
विपी स्मृति दिवसका अवसरमा कांग्रेस, भ्रातृ संस्थाले विभिन्न कार्यक्रम गर्दैछन् । दिवसका अवसरमा नेपाली कांग्रेस र विपी सङग्राहलय समितिले देशैभर विभिन्न कार्यक्रमको आयोजना गरेको छ ।
सङग्राहलय समितिले तेह्रथुमका तेजमान तुम्बाहाम्फे, सुनसरीका रवीन्द्र राई र मिसरु मियाँलाई संयुक्त रुपमा प्रजातन्त्र सेनानी पुरस्कार प्रदान गर्ने कार्यक्रम छ । विपी कोइरालाको २०३९ साउन ६ गते निधन भएको थियो । उनले नेपाली साहित्यका क्षेत्रमा पनि महत्वपूर्ण योगदान पु¥याएका छन् । नेपाली साहित्यमा मनोवैज्ञानिक यथार्थवादी धाराका प्रवर्द्धक कोइरालाका डेढ दर्जन कृति प्रकाशित छन् । कोइरालाका ‘तीन घुम्ती’, ‘मोदी आइन’, ‘हिटलर र यहुदी’, ‘सुम्निमा’, ‘नरेन्द्रदाइ’ र ‘बाबु, आमा र छोरा’ गरी ६ वटा उपन्यास प्रकाशित छन् । त्यसैगरी दुई कथा सङ्ग्रह ‘श्वेत भैरवी’ र ‘दोषी चश्मा’ प्रकाशित छ । यस्तै सुन्दरीजल बन्दी गृहमा बस्दाको दैनिकीमा आधारित आत्मवृतान्त ‘जेल जर्नल’ प्रकाशित छ ।
तपाईको प्रतिक्रिया