व्यवस्थित शहर बनाउने कपिलवस्तु नगरको योजना, ६ सय घर भत्काइने

समाचार

11/19/2019

कपिलवस्तु, ३ मंसिर । पश्चिम क्षेत्रको पुरानो शहर तथा ऐतिहासिक महत्व बोकेको कपिलवस्तुको सदरमुकाम तौलिवहवा क्षेत्रमा सडक व्यवस्था कमजोर भएको विषयप्रति नगरपालिकाले तत्काल समाधान गर्ने निर्णय गरेको छ ।

कपिलवस्तु नगरपालिकाले सडकको मापदण्डअनुसार तौलिहवा बजारको बाटो बिस्तार कार्य अघि बढाउने कार्यपालिकाबाट निर्णय नै गरेको छ ।

स्थानीय नेताको भोट र राजनीतिक दबाबको कारण सडक विस्तार रोकिदै आएको थियो । तत्कालीन प्रमुख जिल्ला अधिकारी बिनोद प्रकाश सिंहको कार्यकालमा सडकको जग्गा तथा नापेर भत्काउनु पर्ने घर तथा टहराहरुमा चिन्ह प्रदान गरेपनि तत्काल सो काम हुन सेकेको थिएन ।

वर्षाैंदेखि रोकिएको बढ्दो जनसंख्याको चाप, सुठौली भन्सारको स्त्तरोन्नती र हुलाकी राजमार्गको निर्माण कार्य अघि बढेकाले तौलिहवा बजारको सडक विस्तार कार्य चाडै अघि बढाउन सम्बन्धित निकायलाई अनुरोध गर्ने नगरपालिकाले निर्णय गरेको हो ।

नगर कार्यपालिको बैठकले जमुहारदेखि नयाँटोल हुँदै तिलौराकोटसम्म र हुलाकी राजमार्गलाई सडकको मापदण्डअनुसार अघि बढाउन सम्बन्धित निकायमा अनुरोध गर्ने गरी निर्णय पारित भएको नगर प्रमुख किरण सिंहले बताए ।

पर्यटकीय नगरी तौलिहवामा वर्षौंदेखि सडक विस्तार कार्य अलपत्र छ, निकट भविष्यमा सवारी चाप समेत बढ्ने कारण तत्काल सो कार्य अगाडी बढाउने सिंहले बताए ।

सडक ऐन २०३४ अनुसार सहायक राजमार्गमा सडकको दायाँ बायाँ १५–१५ मिटर सडक क्षेत्रमा पर्छ । जमुहार– प्रशासन चोक नयाँटोल– भिक्षुचोक हुँंदै तिलौराकोटसम्म सहायक राजमार्ग हो ।

सम्भावित दुर्घटना न्यूनीकरण र यात्रुको चापलाई मध्यनगर गरी पुरानो बजार तौहिलवाको सडक विस्तार कार्यमा अब ढिलाई गर्न नहुने मेयर सिंहले बताए ।

बाटो विस्तारको क्रममा एक धुर पनि जग्गा नबच्ने जग्गाधनीलाई नगरपालिकाले ५ धुर जग्गा समेत उपब्ध गराउने कार्यपालिकाले निर्णय गरेको प्रमुख प्रशासकीय अधिकृत बिमलराज आचार्यले बताए ।

सडक कार्यालय, नापी र नगरपालिको प्राविधिक टोलीले सडक क्षेत्रको नापजाँच गरी विस्तृत प्रतिवेदन समेत पेश गरिसकेका छन् ।

जसअनुसार करिब साढे ६ सय घर सडक क्षेत्रमा परेको छ । केही राजनीतिक दलका नेताको तीव्र बिरोध पछि बाटो विस्तार कार्य रोकिएको छ ।

नगर कार्यपालिको बैठकले कपिलवस्तु नगरपालिका वडा नम्बर ४ को छोटकी तौलिहवादेखि वडा नम्बर १२ को बाणगंगा नदी क्षेत्रको जग्गालाई औद्योगिक ग्राम क्षेत्रको रुपमा विकसित गर्ने गरी औद्योगिक ग्राम क्षेत्र तोक्ने निर्णय गरेको छ ।

यस्तै हुलाकी सडक निर्माणका क्रममा कपिलवस्तु नगरपालिका– १२ बेलभरिया, पिपराहवासम्म जोडिएको सडक क्षेत्रको १५–१५ मिटरमा पर्ने रुख बिरुवाहरु हकभोक र स्याहार गर्दै आएकाहरुलाई नै उपभोग गर्न पाउने गरी कटान प्रकृया अघि बढाउने समेत निर्णय गरिएको छ ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ