जनकपुरधाम २० मंसिर । मंसिर २६ गते हुने रामजानकी विवाहोत्सवको तयारी जनकपुरमा अन्तिम चरणमा पुगेको छ ।
सप्ताहव्यापी कार्यक्रमका साथ मनाइन लागेको रामजानकी विवाहोत्सव शुक्रबारबाट सुरू हुँदैछ ।
विवाहोत्सव कार्यक्रमको पहिलो दिन शुक्रबार जनकपुर नगर दर्शन कार्यक्रम रहेको जानकी मन्दिरका छोटे महन्त रामरोशन दासले जानकारी दिए ।
त्रेता युगमा वैवाहिक कार्यक्रमपूर्व भगवान राम र सीतालाई जनकपुर नगर परिक्रमा गराई सर्वसाधारणले दर्शन गरेको मान्यता अनुरूप नगर दर्शन कार्यक्रम हुने गरेको छ ।
विवाहोत्सवको तयारीबारे जानकारी दिन जानकी मन्दिरमा पत्रकार सम्मेलनको आयोजना गरी छोटे महन्त दासले तयारी अन्तिम चरणमा पुगेको जानकारी गराए ।
विगतका वर्षहरू भन्दा यस वर्ष भव्य तरिकाले विवाहोत्सवको तयारी गरिएको जानकारी दिँदै दासले दश लाखभन्दा बढी तिर्थालु सहभागी हुने अनुमान रहेको बताए ।
राम जानकी विवाहोत्सवमा भारत उत्तर प्रदेशका मुख्यमन्त्री यागी आदित्यनाथ जन्ती बनेर जनकपुुर आउने भएकाले पनि भव्यता दिन लागिएको उनको भनाइ थियो ।
मुख्यमन्त्री योगी जानकी मन्दिरमा पूजाअर्चना पश्चात रंगभूमि मैदानमा आयोजना हुने स्वयंभर कार्यक्रममा सहभागी हुने छन् ।
मुख्यमन्त्री योगीका साथै विवाहोत्सवमा सहभागी हुन अयोध्याबाट पाँच सयको संख्यामा विशिष्ट साधुसन्तहरू जन्ती बनेर जनकपुर आउन लागेको पनि महन्त दासले बताए ।
तपाईको प्रतिक्रिया