काठमाडौं, २० पुस । तेस्रो मुलुकसँगको व्यापारमा लामो समयदेखि एक्लो विकल्प कोलकाता बन्दरगाह अब नेपालका लागि मुख्य ‘ट्रान्जिट पोर्ट’ रहेन । कोलकाताको स्थान विशाखापटनम्ले लिन थालेको छ ।
अहिले रेलमार्गबाट नेपाल भित्रिने ६५ प्रतिशतभन्दा बढी विदेशी कन्टेनर कार्गो आन्ध्र प्रदेशको विशाखापटनम्को बाटो आउन थालेको छन् । वीरगन्ज सुक्खा बन्दरगाहको तथ्यांक अनुसार ३५ प्रतिशतभन्दा कम कन्टेनर कोलकता भएर आइरहेका छन् ।
२०१९ को नोभेम्बरसम्मको सुक्खा बन्दरगाहको तथ्यांकअनुसार चार सय ९३ ¥याक कन्टेनर वीरगन्ज सुक्खा बन्दरगाहमा आएका छन् । यो भनेको करिब ३७ हजार एक सय ७० कन्टेनर हो ।
यसमध्ये दुई सय ६९ मा २४ हजार दुई सय १० विशाखापटनम्बाट आएका हुन् । एक सय ४४ ¥याकमा १२ हजार नौ सय ६० कन्टेनर कोलकाता भएर आएको देखिन्छ ।
यो तथ्यांकले नेपाली आयातकर्ताले मुख्य रुपमा विशाखापटनम् प्रयोग गर्न थालेको देखाउँछ । यो बन्दरगाह प्रयोगको साढे दुई वर्षमै नेपाली आयातमा ६५ प्रतिशत कन्टेनरको ट्रान्जिट बन्न गएको हो ।
नेपालका लागि सन् २०१७ जुनमा विशाखापटनम्बाट पहिलो कन्टेनर कार्गो लोड भएर आएको थियो । त्यसयता यो बन्दरगाहको उपयोग निरन्तर बढिरहेको छ ।
तपाईको प्रतिक्रिया