चितवन, २१ माघ । विद्यालयको शैक्षिक गुणस्तर सुधार गर्नका लागि पञ्चतत्वले समन्वयात्मक भूमिका निर्वाह गर्नुपर्ने खैरहनी नगरपालिकाका नगरप्रमुख लालमणि चौधरीले बताएका छन् ।
नगरप्रमुख चौधरीले विद्यार्थी, शिक्षक, अभिभावक, व्यवस्थापन समिति र नगरपालिकालाई पञ्चतत्वको रुपमा परिभाषित गरेका छन् ।
नगरप्रमुख चौधरीले खैरहनी नगरपालिकामा रहेका सबै विद्यालयको शैक्षिक र भौतिक पक्षको विकास गर्नका लागि सक्दो पहल गरिरहेको बताएका छन् ।
उनले खैरहनी नगरपालिका भित्रका सबै विद्यालयका शिक्षकहरुले विद्यार्थीका शैक्षिक उपलब्धिका लागि विशेष जोड दिन आग्रह गरेका छन् ।
अन्यथा विद्यार्थीको भविष्यमाथि खेलवाड गर्ने शिक्षकहरुलाई कारबाही गर्ने चेतावनी दिएका छन् । विद्यार्थीको भविष्यमाथि खेलवाड गर्ने शिक्षकहरुलाई कारबाही गर्ने प्रक्रिया समेत अगाडि बढाएको नगरप्रमुख चौधरीले बताए ।
कंकाली माध्यमिक विद्यालयको स्वर्णमहोत्सवको पाँचौ दिनमा प्रमुख अतिथिका रुपमा आमन्त्रित नगरप्रमुख चौधरीले उक्त कुरा बताएका हुन् ।
खैरहनी नगरपालिकाले कंकाली माविमा हाल बनिरहेको भवनको लागि १० लाख र भवनमाथि ट्रष्ट बनाउनका लागि २० लाख बजेट चालूवर्षमै विनियोजन गरेको समेत उनले बताए । उनले आगामि वर्षमा पनि विद्यालयका लागि थप बजेट विनियोजन गर्ने प्रतिबद्धता समेत व्यक्त गरेका छन् ।
विद्यालयले स्वर्णमहोत्सवको अवसरमा आयोजना गरेको श्रोतकेन्द्रस्तरीय भलिबल प्रतियोगिताका बिजेताहरुलाई पुरस्कार वितरण गरिएको छ । प्रतियोगितामा डेजी आवासीय मावि प्रथम र कंकाली मावि द्वितीय भएका छन् ।
सम्पन्न भएको टोल सुधार स्तरीय म्युजिकल चेयर प्रतियोगितामा चम्किलो तारा टोल सुधार समितिका शीला कार्की प्रथम, कंकाली टोल सुधार समितिका अञ्जु शर्मा द्वितीय र कंकाली टोल सुधार समितिकै सुशीला क्षेत्री तृतीय भएका छन् ।
त्यस्तै हिसाब दौड प्रतियोगितामा संजय भुसाल प्रथम, आस्लेश शर्मा द्वितीय र भावना रिजाल तृतीय भएका छन् ।
आज साँस्कृतिक कार्यक्रम अन्तर्गत लोकप्रिय गायक भुवन प्यासी र विद्यालयका विद्यार्थीहरुको विशेष प्रस्तुति रहेको थियो ।
भोलि गायक गायिकाहरु सीता कँडेल, शिशिर तिमिल्सीना, आरके ¥यापर, विज्ञान न्यौपानेको प्रस्तुति रहनुका साथै अभिभावकहरु बीच घैंटो फुटाई खेल र विद्यार्थीहरुको विभिन्न दौडहरु हुनेछ ।
तपाईको प्रतिक्रिया