काठमाडौं, २८ असार । सशस्त्र प्रहरी महानिरीक्षक शैलेन्द्र खनालले हाल बाढी पहिरोको जोखिम हुनसक्ने हुँदा सम्पूर्ण सशस्त्र प्रहरी कर्मचारीहरुलाई तयारी अवस्थामा रहन निर्देशन दिएका छन् ।
उनले कुनैपनि प्रकारको विपद् प्रकोपको जोखिम भएमा उच्च मनोवलका साथ छिटोभन्दा छिटो उद्धार कार्यमा परिचालित हुन निर्देशन दिँदै सवै एपीएफ एकाईहरुले आ–आफ्नो कार्यालयमा रहेका उद्धार सामग्री तथा जनशक्तिलाई तयारी अवस्थामा राख्न निर्देशन दिए ।
सशस्त्र प्रहरी महानिरीक्षक खनालले देशभर रहेका एपीएफ एकाईमा कार्यरत सशस्त्र प्रहरी कर्मचारीहरुलाई सशस्त्र प्रहरी बल, नेपाल प्रधान कार्यालयबाट लाईभ भिडियो स्ट्रीमिङ तथा सशस्त्र प्रहरी संचार मार्फत आज प्रत्यक्ष सम्बोधन गर्दै सो निर्देशन दिएका हुन् ।
कुनै पनि प्रकारको विपद् प्रकोप भएमा उद्धार कार्यमा शिघ्र परिचालित हुनुपर्ने आवश्यकता औल्याउँदै सशस्त्र प्रहरी महानिरीक्षक खनालले त्यसअवसरमा भने– ‘कुनै प्रकारको विपद् भएमा सम्पूर्ण एपीएफ एकाईका प्रमुखहरुले एपीएफ टोली छिटोभन्दा छिटो परिचालन गर्नु होला, त्यसो भएमा पीडितलाई उद्धार गर्ने कार्यमा सफलता प्राप्त हुन सघाउ पुग्दछ ।’
सशस्त्र प्रहरी महानिरीक्षक खनालले संगठनले आफ्नो कार्यमा प्रभावकारिता ल्याउन सूचना प्रविधिको अधिकतम उपयोग गर्ने लक्ष्यका साथ कामकारवाहीहरु गरिरहेको उल्लेख गर्नुहुँदै परिणाममुखी कार्यसम्पादनको लागि आधुनिक उपकरणको उपयोग भईरहेको र यसबाट अपेक्षाकृत उपलब्धी हासिल भइरहेको बताए ।
उनले ईमानदारी एवं वफादारीपूर्वक दायित्व निर्वाह गर्न निर्देशन दिँदै सीमा सुरक्षा लगायत सशस्त्र प्रहरी कार्यसम्पादनलाई प्रविधिमैत्री बनाउँदै लगिने र सो कार्यको सुरुवात भईसकेको उल्लेख गरे ।
उनले सशस्त्र प्रहरी कार्यसम्पादनमा शिघ्र परिचालित भई सेवा, सुरक्षा तथा सहयोग र आपत विपद्मा उद्धार कार्यमा कृयाशिल रहन देशभर कार्यरत सम्पूर्ण सशस्त्र प्रहरी कर्मचारीहरुलाई निर्देशन दिए ।
उनले सशस्त्र प्रहरी बल, नेपालले स्थापनाकालदेखि नै आफ्नो जिम्मेवारी त्रुटिरहित ढंगबाट सम्पादन गर्दै आईरहेको उल्लेख गर्नुहुँदै सम्माननीय प्रधानमन्त्रीज्यूको ‘समृद्ध नेपाल सुखी नेपाली’ को महाअभियानलाई सफल पार्न तथा माननीय गृहमन्त्रीज्यूबाट शान्ति सुरक्षा र सुशासन कायम गरी विकास निर्माणको वातावरण सिर्जना गर्ने गृह प्रशासन सुधार कार्ययोजनालाई अक्षरस पालना गर्दै राष्ट्र र जनतालाई सर्बाेपरी ठानेर कार्यक्षेत्रमा उत्कृष्ट कार्यसम्पादन गर्न सशस्त्र प्रहरी कर्मचारीहरुलाई निर्देशन दिए ।
उनले शान्ति सुरक्षा तथा सुशासन कायम राख्ने एवं सीमा सुरक्षा लगायत औद्योगिक सुरक्षा तथा राजश्व संकलनमा समन्वयका साथ सहयोग एवं सहकार्य गर्दै अगाडी बढ्न निर्देशन दिँदै जिम्मेवारीका क्षेत्रहरुमा यथाशिघ्र परिचालित भई परिणाममुखी कार्यसम्पादन गर्न सम्पूर्ण सशस्त्र प्रहरी कर्मचारीहरुलाई निर्देशन दिए ।
सशस्त्र प्रहरी महानिरीक्षक खनालले नेपाल सरकारको नीति निर्देशनलाई अक्षरस पालना गर्दै दायित्व निर्वाहमा संगठन अगाडी बढिरहेको बताउँदै राष्ट्रको रक्षा, राष्ट्रियताको जगेर्ना तथा राष्ट्रिय एकताको प्रर्वद्धनमा कटिवद्ध रहन निर्देशन दिँदै प्राप्त कार्यादेशहरुलाई प्रभावकारी कार्यान्वयन गर्न तथा दैनिक अप्रेशनल तथा प्रशासनिक कार्यहरुलाई चुस्त दुरुस्त पार्दै सवै तहको नेतृत्वमा कुनै पनि किसिमको द्विविधा नहोस भनि संगठनले पहिलो पटक एकाई प्रमुखहरुको सम्मेलनको आयोजना समेत गरेको स्मरण गरे ।
यसैगरी संघीय सरकारको अभिन्न सुरक्षा अंगको रुपमा रहि कार्य सम्पादन गर्न, गम्भिर प्रकृतिका सुरक्षा चुनौतीहरुलाई सामना गर्न, तालिमका माध्यमबाट दक्ष तथा सक्षम जनशक्तिको विकास गरी अनुशासित, व्यवसायीक तथा ईमानदार राष्ट्रसेवक निर्माण गर्न एवं अभैm प्रभावकारी रुपले शान्ति सुरक्षा कायम गर्न देशका सवै जिल्लाहरुमा सशस्त्र प्रहरी बल, नेपालको आवश्यकता महसुस गरी गत वर्ष नै २०७५ साल जेठ २७ गते संगठनको पुर्नसंरचना गरिएको कुरा समेत उल्लेख गरे ।
जस अनुसार ४५ जिल्लामा स्थायी र १३ जिल्लामा अस्थायी गरी ५८ जिल्लामा मात्रै संगठनको उपस्थिति रहेकोमा हाल ६० जिल्लामा स्थायी र १७ जिल्लामा अस्थायी गरी ७७ वटै जिल्लामा परिचालित भएको तथा पाँच वटा बाहिनीमा तीन वटा थप गरी ८ वटा बाहिनी बनाईएको, पाँच वटा तालिम शिक्षालय रहेकोमा ६ वटा तालिम शिक्षालय थप गर्ने तर्फ कामकारवाही भईरहेको, २७ वटा गणमा ९ वटा थप गरी ३६ बनाईएको, २१ वटा सीमा सुरक्षा कार्यालयहरुलाई गणमा स्तरोन्नती गरिएको, ३८ गुल्महरुमा १८ वटा थप गरी ५६ स्थायी गुल्म बनाईएको छ ।
यसैगरी गुल्ममा फरक–फरक जनशक्ति रहेकोमा समान रुपमा जनशक्तिको संख्या १ सय ६० बनाईएको, १७ वटा आश्रित गुल्म थप गरिएको, सीमा सुरक्षा कार्यलाई संवेदनशील रुपमा लिई ८७ वटा बोर्डर आउट पोष्टमा १९ वटा थप गरी १ सय ७ पु¥याइएको तथा थप ४ वटा स्थापनाको क्रममा रहेको, करीब १० हजारको जनशक्ति रहेको तराईमा १५ हजार जनशक्ति परिचालन गरिएको, बोर्डर आउट पोष्ट स्थापना र कमाण्डरको परिचालनलाई सहज बनाईएको तथा युनिट सरुवा प्रणालीलाई प्रभावकारी बनाउन पहल गरिएको कुरा समेत सोही अवसरमा सशस्त्र प्रहरी महानिरीक्षक खनालले उल्लेख गरे ।
उनले आवश्यकता अनुसार बोर्डर आउट पोष्टको संख्या बृद्धि गरिँदै लगिने तथा उत्तरी सीमातर्फ समेत बोर्डर आउट पोष्ट स्थापना गरिँदै लगिने बताए ।
सशस्त्र प्रहरी महानिरीक्षक खनालले संगठनमा विभिन्न कारणले रिक्त हुने पदहरुमा बढुवा तथा नयाँ भर्ना प्रकृयाबाट पदपूर्ति गर्दै लगिएको बताउँदै संगठनले पारदर्शी ढंगले सरुवा बढुवा कार्य गर्दै आएको कुरा समेत उल्लेख गरे ।
सशस्त्र प्रहरी बल, नेपालको खोज तथा उद्धार क्षमता अभिबृद्धि गर्नेतर्फ पहल भईरहेको बताउँदै सशस्त्र प्रहरी महानिरीक्षक खनालले बहालवाला तथा भूतपूर्व सशस्त्र प्रहरी कर्मचारी एवं तिनका सन्तती तथा आमनागरिकलाई उपचार सेवा प्रदान गर्दै आएको एपीएफ अस्पतालाई स्तरोन्नती गर्दै सात वटै प्रदेशमा समेत क्रमिक रुपमा अस्पताल स्थापना गर्दै लगिने बताए ।
उनले शिक्षाको महत्वमाथि प्रकाश पार्दै हाल पहिलो चरणमा प्रदेश नं. २ को सप्तरी जिल्लामा नेपाल एपीएफ स्कुलको स्थापनाको सुरुवात भईसकेको तथा आगामी दिनमा सात वटै प्रदेशमा एपीएफ स्कुलको स्थापना गरी सशस्त्र प्रहरी कर्मचारीका सन्तती एवं स्थानीय जनताका सन्ततीहरुलाई स्तरीय शिक्षा प्रदान गरिने बताए ।
उनले सूचना प्रविधिको बढ्दो प्रयोगसँगै यसले गर्दा उत्पन्न हुनसक्ने सुरक्षा चुनौतीको सामना गर्न छुट्टै सेल खडा गरी सक्षम एवं प्रविधिमैत्री सुरक्षा संयन्त्रको विकास गर्ने लगायतका विविध विषयमा जानकारी समेत गराए ।
सशस्त्र प्रहरी महानिरीक्षक खनालले संगठनका राष्ट्रसेवकहरुलाई उच्च हौसला, इमान्दारिता तथा कर्तव्यबोधका साथ कार्य गर्न निर्देशन दिए ।
सो अवसरमा सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षकहरु पुष्पराम के.सी., नारायणबावु थापा र रामशरण पौडेल लगायत बरिष्ठ अधिकृतहरु तथा एपीएफ अधिकृत, बिल्लादार एवं जवानहरुको उपस्थिती रहेको थियो ।
तपाईको प्रतिक्रिया