शान्ति सुरक्षालाई थप मजबुत बनाउन सुरक्षा अधिकारीहरुलाई मुख्यमन्त्रीको निर्देशन

समाचार

9/28/2019

जनकपुरधाम, ११ असोज । प्रदेश २ का मुख्यमन्त्री मो.लालबाबु राउत गद्दीले प्रदेशको शान्ति सुरक्षाको सवालमा कुनै प्रकारको इन्तु कितु स्वीकार्य नरहेको बताएका छन् ।

प्रदेशस्तरीय सुरक्षा गोष्ठिलाई सम्बोधन गर्दै मुख्यमन्त्री राउतले शान्ति सुरक्षा र सुशासन नै समृद्धि र विकासको आधार रहेकोले शान्ति सुरक्षालाई थप मजबुत बनाउन सुरक्षा अधिकारीहरुलाई निर्देशन दिए ।

शान्ति सुरक्षामा कुनै प्रकारको चुक भए सम्बन्धित अधिकारीलाई कारबाहीको भागी हुनु पर्ने चेतावनी दिँदै मुख्यमन्त्री राउतले भने, ‘शान्ति सुरक्षाको लागि प्रदेश सरकारले गर्नु पर्ने सबै काम सरकारले गर्छ तपाईहरु आफनो जिम्मेवारी निर्वाह गर्नु होस् ।’

गोष्ठीको क्रममा प्रमुख जिल्ला अधिकारीहरुले प्रस्तुत गरेको प्रतिवेदनले शान्ति सुरक्षाको सवालमा रहेका समस्याहरुको पहिचान भै सकेको उल्लेख गर्दै उनले अबको त्यसको समाधानको बाटो पहिल्याउन सम्बन्धित अधिकारीहरुलाई निर्देशन समेत दिए ।

अपराधिक घटनालाई न्यूनीकरण गर्ने उद्देश्यकासाथ आयोजित दुई दिने प्रदेशस्तरीय सुरक्षा गोष्ठी शनिबार सम्पन्न भएको हो ।

प्रदेश २ का आन्तरिक मामिला तथा कानून मन्त्री ज्ञानेन्द्र यादवको अध्यक्षतामा भएको गोष्ठीमा आन्तरिक मामिला तथा कानून राज्यमन्त्री सरोज सिंह कुशवाहा, नेपाल प्रहरीका महानिरीक्षक सर्वेन्द्र खनाल, सशस्त्र प्रहरी महानिरीक्षक शैलेन्द्र खनाल, राष्ट्रिय अनुसन्धान विभागका प्रमुख गणेश अधिकारी, नेपाली सेनाका पृतनापति नरेशचन्द भट्ट तथा गृहमन्त्रीका सुरक्षा सल्लाहकार ईन्द्रजीत राई, प्रदेश नम्बर २ का आठ वटै जिल्लाका प्रमुख जिल्ला अधिकारी, नेपाल प्रहरीका प्रहरी उपरिक्षक, सशस्त्र प्रहरी उपरिक्षक, नेपाली सेनाका अधिकारी तथा राष्ट्रिय अनुसन्धान विभागका प्रमुखहरुको पनि सहभागिता रहेको थियो ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ