सिरहा, १३ असोज । छुवाछुतमुक्त समाज निर्माणका लागि घरभन्दा बाहिर हुने कार्यक्रम र छलफलमा जान थालेपछि अनिता यादवलाई कूलदेवताको घरमा दीप जलाउन समेत प्रतिबन्ध लाग्यो ।
सासु, जेठानी र नन्दले सानो जातिले छोएको खाजा र पानी खाएको भन्दै कूलदेवताको घरमा निषेध गरेको थियो ।
तर यो कुरा अब सपनामा भए जस्तो मात्रै लाग्छ । समय फेरिएको छ । अनिता भन्छिन्, ‘अब कूदलेवताको घरमा मलाई कुनै बन्देज छैन ।
सासु, जेठानी र नन्दले समेत छुवाछुत अमानवीय कार्य भएकोले गर्न नहुने र त्यस्तो अभ्यासलाई निरन्तरता दिए कानुनी कठघारामा उभिनुपर्ने थाहा पाएपछि वर्ष दिनभित्रै समय फेरिएको हो ।
सखुवानन्कारकट्टी गाउँपालिका ५ महेशवारीस्थित इलाका प्रहरी कार्यालयको गोलघरमा नियमित हुने छलफलमा अधिकारकर्मी एवं मानवअधिकार पैरवी संजालका सदस्यहरुले यस्तै सफलताका संघर्ष र परिवर्तनका कथाहरु सुनाउने गर्छन् ।
पहिला पहिला मन्दिरमा कथित उच्च जातिका कोही वा पुजारी मार्फत मन्दिरमा प्रसाद चढाउनु प¥थ्यो तर समय फेरिएको शिव कुमारी पासवानले बताइन् ।
उनले भनिन्, ‘मन्दिरमा जुनसुकै समूदायको मानिसले आफै पनि प्रसाद चढाउने पाउने बातावरण बनिसकेको छ ।’
मानवअधिकार पैरवी संजाल सखुवानन्कारकट्टीका संयोजक सत्यनारायण ठाकुरले बिना तलब र भत्ताले नै गाउँमा जातीय सद्भाव कायम गर्न सकिने बताए । उनले भने, ‘गाउँमा जातीय सद्भाव र छुवाछुतमुक्त बनाउन नियमित छलफल र संवाद आवश्यक छ ।’
तपाईको प्रतिक्रिया