जनकपुरधाम, १५ भाद । मुख्यमन्त्री मो.लालबाबु राउत गद्दीले संघीय सरकारको असयोगका कारण सोचेजस्तो काम गर्न नसकेको बताएका छन् ।
मुख्यमन्त्री ‘बेटी पढाउ, बेटी बचाउ’ कार्यक्रमअन्तर्गत साइकल वितरण गर्न सिरहा पुगेका मुख्यमन्त्री राउतले संघीय सरकारको असहयोगका कारण प्रदेशमा लक्ष्य अनुरुप काम गर्न नसकेको बताएका हुन् ।
साइकल वितरण कार्यक्रमलाई सम्बोधन गर्दै उनले प्रदेश सरकारले विभिन्न काम तथा अभियानको थालनी गरेपनि संघीय सरकारको हस्तक्षेप र असहयोगले गर्दा कामलाई गति दिन नसकेको गुनासो गरे ।
संघीय सरकारले प्रदेश २ सरकारको काम प्रभावित पार्न एक वर्षमै चार–चार वटा सचिव परिवर्तन गरेको र त्यसकारण चाहेर पनि जनताको अपेक्षा अनुरुप काम हुन नसकेको दुखेसो पोख्दै मुख्यमन्त्री राउतले केन्द्रीय सरकार संघीयतालाई नै धरापमा पार्ने खेल समेत गरिरहेको आरोप लगाए ।
समृद्ध देश र प्रदेशको परिकल्पना पूरा गर्न तीनै तहको सरकारबीच सहकार्य, समन्वय र तालमेलको आवश्यकता रहेको उल्लेख गर्दै उनले भने, ‘समृद्धिको सपना पूरा गर्न नारा लगाएर मात्र हुदैन, हृदयदेखि अघि बढ्नु पर्दछ ।’
मुख्यमन्त्री राउतले बेटी पढाउ, बेटी बचाउ अभियान अन्तर्गत एक आर्थिक वर्षमा ४–५ हजार साईकल वितरण गर्ने लक्ष्य लिएकोमा १४ हजार साइकल वितरण भैरहेको बताए ।
समाजिक रुपान्तरणका लागि नारी सशक्तिकरण आवश्यक रहेकाले यसलाई उच्च प्राथमिकतामा राखेर प्रदेश सरकार अघि बढेको उनको कथन थियो ।
प्रदेश २ सरकारको मुख्यमन्त्री ‘बेटी पढाउ, बेटी बचाउ’ कार्यक्रम अन्तर्गत सिरहाका विभिन्न पाँट वटा विद्यालयमा एकैदिन चारसय ६२ छात्रालाई साईकल हस्तान्तरण गरिएको छ ।
लहानस्थित लक्षमण ललिता माविमा १ सय ३, मिर्चैयास्थित मोहन उमाविमा १ सय १३, जनता बनवाली बर्छवामा १ सय १२, राजमावि छजनामा ५७ र मिर्चैया नगरपालिका वडा ७ स्थित बाजुमावि फूलवरियामा ७७ वटा गरी कक्षा ८ मा अध्ययनरत ४ सय ६२ जना छात्रालाई साईकल वितरण गरिएको हो ।
तपाईको प्रतिक्रिया