जनकपुरधाम, ६ भाद्र । मुख्यमन्त्री लालबाबु राउतले वन फँडानी गर्ने संघीय सरकारको षड्यन्त्रलाई कुनै पनि हालतमा सफल हुन नदिने बताएका छन् ।
उद्योग वन तथा पर्यटन मन्त्रालयद्वारा सागरनाथ वन विकास परियोजना अन्तर्गत महोत्तरीको लक्ष्मीनियामा आयोजित वृक्षारोपण कार्यक्रममा मुख्यमन्त्री राउतले संघीय वन मन्त्रालयले सागरनाथ वन विकास परियोजनालाई निगममा परिणत गरेर बन फँडानी गर्ने षड्यन्त्र प्रदेश सरकारले सफल हुन नदिने बताए ।
उनले वन र चुरेको संरक्षण गर्न नसकिए प्रदेश नै मरुभूमिमा परिणत हुने खतरा रहेकोले आफुहरु वन र चुरे जोगाउन जस्तोसुकै कदम चाल्न तयार रहेको पनि बताएका छन् ।
वन प्रशासन र प्रहरीको मिलेमतोमा संगठित रुपमै वन फडानी गर्ने कार्य भइरहेको उल्लेख गर्दै मुख्यमन्त्री राउतले त्यो कार्य प्रदेश सरकारलाई सह्य नरहेको उल्लेख गरे । उनले आजकै मिति देखी वन जोगाउने कार्यमा सक्रिय हुन वन प्रशासनलाई निर्देशन समेत दिएका छन् । प्रदेश सरकारले सागरनाथ वन विकास परियोजना अन्तर्गत महोत्तरीको लक्ष्मिनियाँमा २० हेक्टरमा ३० हजार वृक्षा रोपण गरेको छ ।
कार्यक्रममा भौतिक पूर्वाधार विकास मन्त्री जितेन्द्र सोनल, आन्तरिक मामिला तथा कानून मन्त्री ज्ञानेन्द्र यादव, समाजिक विकास मन्त्री नवल किशोर साह, उद्योग वन तथा पर्यटन मन्त्री राम नरेश राय, राज्यमन्त्रीहरु डा. डिम्पल झा, अभिराम शर्मा र सुरेश मण्डल , मुख्यन्यायधिवक्ता दिपेन्द्र झा, प्रमुख सचिव दिपक सुवेदी सहितको सहभागिता रहेको थियो ।
तपाईको प्रतिक्रिया