काठमाडौं, १० मंसिर । भारतीय लगानीमा निर्माणाधीन ९०० मेगावाटको अरुण तेस्रो जलविद्युत् आयोजनाको २४ प्रतिशत निर्माण सम्पन्न भएको जनाइएको छ ।
प्रवद्र्धक सतलज जलविद्युत् निगम लिमिटेडका प्रमुख कार्यकारी अधिकृत (सिइओ) अरुण धिमानले ऊर्जा सम्मेलनको प्रोजेक्ट सो केस सेसनलाई बोल्दै पछिल्लो समय आयोजनाको निर्माण तीव्र गतिमा भइरहेको बताए । सिइओ धिमानले सन् २०२३ भित्र निर्माण गर्ने योजना रहेको बताए ।
उनले यो आयोजना भारत र नेपाल दुवैको लागि अति महत्ववपूर्ण भएकाले पनि तोकिएको समयसीमाभित्रै निर्माण सम्पन्न गर्ने प्रतिवद्धता जनाए ।
कार्यकारी अधिकृत धिमानले तोकिएको समयमै सम्पन्न गरेर अन्य आयोजनाका लागि मार्गदर्शक बन्ने योजनामा रहेको सुनाए ।
सतलज जलविद्युतले सन् २०२३ सम्म पाँच हजार मेगावाट बिजुली उत्पादन गर्ने लक्ष्यसहित विभिन्न जलविद्युत् आयोजना निर्माण गरिरहेको जनाएको छ ।
उनका अनुसार सन् २०४० सम्म २५ हजार मेगावाट बिजुली उत्पादन गर्ने लक्ष्य छ । आयोजना भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र नेपालका प्रधानमन्त्री केपी शर्मा ओलीले गत वैशाखमा स्विच थिचेर शिलान्यास गरेका थिए ।
सतलज कम्पनीमा भारतीय केन्द्रीय सरकारको ६४.४६ प्रतिशत सेयर छ । कम्पनीले नै संखुवासभामा रहेको आयोजनास्थलदेखि ढल्केबर सवस्टेसनसम्म ४ सय केभीको प्रसारणलाइन निर्माण गर्नेछ ।
तपाईको प्रतिक्रिया