बुटवल, २६ भाद्र । असोज ९ गते तिलोत्तमा नगरपालिको टाइगर रिसोर्टमा एक कार्यक्रम तय भएको छ । स्थानीय तहहरुमा लगानीमैत्री वातावरण बनाउने उद्देश्यले प्रदेश सरकारको भूमिका सम्बन्धमा छलफल गर्न सातै प्रदेशका मुख्यमन्त्री र आर्थिक मामिला तथा योजना मन्त्रीहरु रुपन्देहीको तिलोत्तमामा जमघट हुने भएका छन् ।
सातै प्रदेशका मुख्यमन्त्री र अर्थमन्त्रीबीच लगानी भित्र्याउने सम्बन्धमा संयुक्त छलफल गर्न कार्यक्रम तय भएको छ । सम्मेलनमा संघीय सरकारका अर्थमन्त्री डा. युवराज खतिवडा र संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराई, उद्योग वाणिज्य महासंघका पूर्वअध्यक्ष सुरज वैद्यलगायतको पनि सहभागिता रहने छ ।
‘सम्मेलनको अघिल्लो साँझ सबै मुख्यमन्त्रीहरुबीच संयुक्त छलफल हुन्छ, पाँचजना मुख्यमन्त्री आउने निश्चित भइसक्यो, कर्णाली र सुदूरपश्चिमका मुख्यमन्त्रीसँग पनि सम्पर्क हुँदैछ,’ लगानी सम्मेलनका संयोजक बासुदेव घिमिरेले भने, ‘सम्मेलनको दिन संघीय अर्थमन्त्री, पर्यटन मन्त्री र सातै प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्रीहरुबीच छलफल हुन्छ ।’
सम्मेलनमा नेपाल, भारत र चीनसहित विदेशी मुलुकबाट समेत गरी पाँच सय जना लगानीकर्ता सहभागी हुने लक्ष्य राखिएको तिलोत्तमा नगरपालिकाका प्रवक्ता सुरेन्द्र श्रीले बताए । लगानी सम्मेलनलाई लक्षित गरी ६ लेन सडकको दायाँबायाँ सरसफाइलगायतका तयारीका काम अन्तिम चरणमा पुगेको प्रवक्ता श्रीले बताए । सम्मेलनबाट ५० अर्ब लगानी भित्रिने आयोजकको लक्ष्य छ ।
तपाईको प्रतिक्रिया