रौतहट, २७ भाद्र । राजदेवी नगरपालिकाका प्रमुख धीरेन्द्र कुमार सिंहले नगरपालिकाका स्थानीयहरुको दुःखलाई न्यूनीकरण गर्दै समुन्नत नगरपालिका बनाउने बताएका छन् ।
आफ्नै जन्मस्थल स्थानीय वडा नम्बर ९ ब्रह्मपुरीमा बिहीबार राजदेवी नगरपालिकाले आयोजना गरेको हैंडपाइप हस्तान्तरण तथा सम्मान कार्यक्रममा प्रमुख अतिथिको आसन्नबाट सम्बोधन गर्दै मेयर सिंह बाढीको उच्च जोखिममा रहेको नगरपालिकालाई सुखी र समृद्ध नगरपालिका कसरी बनाउने योजना बनिरहेको उल्लेख गरे ।
उनले भने वर्षेनी बाढीले भोग्नु परेको समस्या समाधान गर्नुपर्ने महत्वपूर्ण चुनौती रहेको छ ।
नगरपालिका भित्रको सबै पूर्वाधारको विकास, बेरोजगारी समस्याको निदान गर्ने प्रतिवद्धता जनाउँदै मेयर सिंहले केही निर्वाचित जनप्रतिनिधिको असहयोगले सोचेको कुरा गर्न कठिनाई भैरहेको जिकिर गरे ।
बहुमतीय पद्धतिको अभ्यासले समस्यामा परेको उनको कथन रहेको छ । जनतालाई तनमनले सेवा गर्ने जनाएको प्रतिवद्धता स्मरण रहेको बताउँदै विस्तारै विस्तारै भएको समस्या समाधान गर्ने विश्वास व्यक्त गरे ।
असल छिमेकी नेपाल पोखराले पीडामा सके जति गरेको सहयोग प्रति आभार व्यक्त गर्दै मेयर सिंहले निरन्तर सहयोग गर्न समेत आग्रह गरे ।
कार्यक्रममा सहयोगी संस्थाका निर्देशक राजेन्द्र अधिकारीले विपद र पीडामा परेकालाई सहयोग गर्ने उद्देश्य संस्थाको रहेको बताए ।
विगतमा संस्थाद्वारा गोरखाको भूकम्पपीडित, नवलपरासीका पहिरो पीडित र बारा पर्साको हावाहुरी प्रभावितलाई सहयोग गरेको बताउँदै निर्देशक अधिकारीले ब्रह्मपुरीका बाढी पीडितलाई सहयोग गरेको जनाए ।
वड़ा अध्यक्ष भाग्यनारायण साहको सभापतित्वमा भएको कार्यक्रममा राजदेवी नगरपालिकाको तर्फबाट मेयर सिंहले सस्थाका निर्देशक अधिकारी, समाजसेवी प्रकाश थारू, नविन कुमार सिंह, संचारकर्मी राकेश कुमार यादव, संस्थाका कर्मचारी प्रेम घिमिरेलाई प्रशंसा पत्रबाट सम्मान गरेका छन् ।
सहयोगी संस्था असल छिमेकी नेपालले पनि नगर प्रमुख धीरेन्द्र कुमार सिंह, समाजसेवी प्रकाश थारू, संजय कुमार सिंह, संस्थाका कर्मचारी घिमिरेलाई सम्मान गरेको छ ।
चंचल कुमार झाले सञ्चालन गरेका कार्यक्रममा वडा अध्यक्ष जयमंगल दास लगायत स्थानीय समाजसेवी वुद्धिजीवी लगायत स्थानीय महिला पुरुषको सहभागिता रहेको थियो ।
तपाईको प्रतिक्रिया